विक्रम संवत् १८०३
तिरको कुरा हो | एक जना योद्धा लडाईमा हारेर थकित पिडित भई आफ्ना बचेका एक दर्जन
सिपाही लिएर जंगलको बाटो हिंड्दै थिए | आफ्ना युद्धमा लागेका घाउ लुकाउन उनले
फराकिलो गम्छाको प्रयोग गरेका थिए | उनका जिउँदा सिपाहीहरु पनि मनमा निराश र शरीरमा
घायल थिए | अनकन्टार जंगलको गोरेटोमा पाइला चाल्दा र त्यसमाथि त्यो साउने झरीमा
निथ्रुक भिज्दा उनीहरुको मनोबल निकै नै गिरेको थियो | मनमा हार र साथीभाई गुमाउनुले
उनीहरुको घाउमा नून छर्किएझैँ भएको थियो | उनीहरु सब चुपचाप घायल बाघझैँ आफ्नो
बाटो हिंडिरहेका थिए | दिनभरको लामो यात्रा कतै गएर बिसाउनु थियो | रात पर्नै लागेको थियो | अगाडी केहि उज्याला
बत्तीहरु देखिए | लामो जंगलको बाटो एउटा गाउँमा गएर टुंगियो |
सेनापतिले ती आफ्ना
जवानलाई ४ भागमा बाँडीदिए र तीन-तीन जनाको समूह लिएर बास माग्न गए | ती योद्धा र
अरु दुई जवान एउटा घरमा पसे | घर सुनसान थियो | योद्धाले ईशारा गरे अनि एक जना
जवान चिच्याए, “ घरमा को हुनुहुन्छ ? बास पाइन्छ कि ?” एकछिनपछि, एकजना बुढी आमा लौरो
टेक्दै बाहिर निस्किनुभयो र भन्नुभयो, “ को हौ नानीहरु! कहाँबाट आएका हौ ?” एक
सिपाहीले थपे, “ हामीहरु रासन किन्न सहर गएका थियौं | आधी बाटोमै रात पर्यो | आमै
बास दिनुहुन्छ कि ?”
बुढी आमाले भन्नुभयो,
“ यतिका राती पालेका छौ | बास पाउँछौ | आओ भित्र |”
तीनै जनाले
हातखुट्टा धोईवरी घरभित्र छिरे | योद्धा मौन थिए : मानौं कुनै आगामी युद्धको
बारेमा योजना बुन्दै थिए | उनको अनुहारमा युद्धको हारको पिडा र भविष्यको लडाईमा
जित्ने आशाको मिश्रित भाव थियो | हिजोको हारले उनलाई ज्यादै अन्तर्मुखी बनाई दिएको
थियो | उनी कहिले आफ्नो टाउको हल्लाउँथे, कहिले दाह्रा किट्थे र कहिले मनमनमा
हाँस्थे | उनको यो विक्षिप्तता देखेर उनका सहकर्मीहरु झन् अताल्लिएका थिए |
उनीहरु दलानमा
चुपचाप बसिरहेका थिए | बुढी आमा अगेनीमा खाना पकाउँदै हुनुहुन्थ्यो | यत्तिकैमा, एकजना
सिपाहीले मुख खोले, “ महाराज ! हजुर चिन्ता नगर्नुहोस् | अब हामी फेरी एकत्रित भएर
हमला गर्नेछौँ र बदला लिनेछौँ |” योद्धाले हातले शान्त रहन ईशारा गरे तर केहि
बोलेनन् | फेरी त्यहाँ निशब्दता छायो |
एकछिनपछि, बुढीआमाले
खाने बेला भयो भनेर डाक्नुभयो | तीनजनालाई तात्तातो खाना राखिदिएर बुढीआमा छेवैमा
बस्नुभयो | योद्धाले मनमनमा मन्त्र पाठ गरेर खान सुरु गरे | उनले थालीको बीचमा हात
राख्दै थिए खानाले च्वास्स पोल्यो र हात झट्कारे | त्यो देखेर बुढीआमा हाँस्नुभयो
र भन्नुभयो, “ तिमी त कस्तो पृथ्वीनारायण शाहजस्तो रहेछौ | छेउ-छेउको राज्य नहडपी सिधै
केन्द्रमा आक्रमण गर्ने ! अनि पोलिहाल्छ नि | किनाराबाट खान सुरु गर नानी !”
सिपाहीहरु अवाक् भएर
एकअर्कालाई हेरे अनि एकछिनपछि लामो सास फेरेर फेरी खान थाले | योद्धाले एकटक लाएर
एकछिन केहि सोंचे अनि अनुहार उज्यालो बनाउँदै छेउबाट खान सुरु गरे |
ती योद्धा वास्तवमा
राष्ट्र-निर्माता पृथ्वीनारायण शाह नै थिए जो त्यो दिन नुवाकोटसँग युद्ध हारेर
गोरखा फर्कंदै थिए | त्यस दिनपछि, उनले ती बुढीआमाको उपदेश अङ्गीकार गरेर स-साना
राज्यहरुलाई आक्रमण गर्दै शक्ति संचय गरी ठूला राज्यहरुलाई घेराबन्दी गर्न थाले |
नाकाबन्दी र घेराउ गरी अन्त्यमा उनले सम्पूर्ण नेपालका ठूला-साना टुक्रे राज्यहरुलाई
एकिकरण गरी विशाल नेपाल बनाएरै छाडे |
जय नेपालआमा !
नैतिक पाठ: समय र परिस्थिति जस्तो विकराल भएपनि आफूलाई सधैँ नयाँ कुरा सिक्नको लागि खुला राख्नुपर्छ | त्यसरी, हामी जस्तो भयङ्कर परिस्थितिलाई पनि परिवर्तन गरी भविष्य आफ्नो अनुकूल बनाउन सक्छौँ र जीवनमा विजयी हुनसक्छौँ | सदैव खुला रहनु र सिक्नु !