Friday, August 12, 2022

बालक सत्यकाम र जावालाको पौराणिक कथा !

balak satyakaam story,


 सामवेद अन्तर्गत पर्ने छान्दज्ञोपनिषद्मा एउटा कथा छ । परापूर्वकालमा जावाला नामकी एक गरीब महिला थिइन् । गाउँको छेउमा एउटा झुपडी बनाएर बस्दै आएकी जावालाको जवानीमा फाइदा उठाएर सौन्दर्य लुट्ने धेरै भए पनि वृद्धावस्थामा साथ दिने कोही थिएनन् । त्यसैले बुढेसकालमा जन्मेको छोरा सत्यकामको मुख हेरेर उनी जीवन व्यतीत गर्दै आएकी थिइन् ।

“आमा ! मेरो गोत्र के हो ? एक दिन बालक सत्यकामले आमा जावालासँग भने, “पढ्न जाने विचार गरेको छु । गुरुले कुल गोत्र सोध्नुहोला । के भनेर परिचय दिऊँ ।’


” बाबु तिमी बुद्धिमान रहेछौ, मैले सम्झाउनुपर्नेमा तिमी आफैँ त्यस्तो कुरा गरिरहेका छौ तर म तिम्रो गोत्र भने भन्न असमर्थ छु ।”


“होइन आमा त्यसो नभन्नुस् ।” सत्यकामले ढिपी गर्दै भने,”तपाईंको समस्या के हो थाहा छैन । मलाई थाहा भएको यही हो कि कुल र गोत्र नभएको मानिस नै हुँदैनन् ।”


सत्यकामले भने, “आमा! गोत्र बिना मेरो शिक्षा सम्भव छैन । छोराछोरीका पढाइमा बाधक बन्ने आमा वैरी र बाबु शत्रु हुन्छन् भनिएको छ नीतिशास्त्रमा । म चाहन्छु मेरो आमाको अवस्था त्यस्तो नहोस् ।”


बालक छोराको कुरा सुनेर जावालाको आँखा रसायो । उनले छोरालाई अङ्कमाल गर्दै भनिन्,”हो बाबु ! तिमीले भनेको सही हो । मेरो सर्वस्व भनेकै तिमी हौ । भर्खर सात पुगेर आठमा टेकेका छौ तैपनि यति ठूलो बुद्धिमानी कुरा गर्छौ भने तिम्रो बाटोको बाधक चाहन्न । तिमीले पढ्न जानै पर्छ । गुरुले गोत्र सोधे भने यही भन्नु कि कुल र गोत्र केही थाहा छैन तर आमाको नाम भने जावाला हो ।”


आमाको कुरा सुनेर सत्यकाम आश्चर्यमा परे र गुरुकुलतर्फ लागे ।केही दिनको हिडाइपछि एउटा गुरुकुलमा पुगेर अध्ययन गर्न आएको बताए । गुरुले गोत्र सोध्नुभयो तर उनको कुनै गोत्र थिएन । त्यसैले आमाले भने बमोजिम कुलगोत्र त थाहा छैन तर आफ्नो नाम सत्यकाम र आमाको नाम जावाला भनेर परिचय दिए ।


उनको कुरा सुनेर गुरु खुसी भए । विद्यार्थी सज्जन र सत्यवादी छ भन्नेमा कुनै शङ्का भएन । सभ्य, शिष्ट र नम्रता जस्ता विद्यार्थीमा हुनुपर्ने अन्य गुण पनि भरपूर पाए । त्यसैले धैर्यताको परीक्षण लिने उद्देश्यले भने, “बाबु सत्यकाम ! तिम्रो गुरु बन्न मलाई गाह्रो छैन तर पढाइ सुरू गर्नुपूर्व एउटा शर्त पूरा गर्नुपर्ने मेरो नियम छ । मञ्जुर छौ ?”

“मन्जुर छ गुरुदेव ! यथासम्भव पूरा गर्ने प्रयास गर्नेछु ।”


त्यसपछि गुरुले आज्ञा दिनुभयो, ” तिमी सयवटा गाई लिएर जंगल जाऊ । हजारवटा गाई भएपछि मात्र गुरुकुलमा फिर्ता आऊ।”

गुरुको आज्ञा शिरोपर गरी भोलिपल्ट सत्यकाम सयवटा गाई लिएर जंगल पसे । त्यहिँ आश्रम बनाई बसेर गाई चराउन र स्याहार-सुसार गर्न लागे । वर्षौँपछि, जब गाई हजार वटा भए तब उनी गाई लिएर आश्रम फिर्ता भए । अब उनको धैर्यताको पनि परीक्षा पूरा भइसकेको थियो । त्यसपछि गुरुले आफ्नै गोत्र दिएर उपनयन संस्कार पूरा गरी वेद वेदान्त आदि समग्र शास्त्रमा निपुण गराउनुभयो ।




परापूर्व कालमा घटित यस उपनिषद् कथाबाट हामीले जसमा धैर्यता र सत्यता जस्ता गुण हुन्छन् उसका लागि असम्भव भन्ने केही पनि हुँदैन भन्ने पाठ सिक्न सक्छौँ ।

छोरीको चतुर्यांईले बाबुको ऋण मुक्ति !

chhori ko chaturai,

 सयौं वर्ष पहिले, इटालीको एउटा सानो सहरमा, एक व्यवसायीले साहुलाई ठूलो रकम तिर्न बाँकी थियो। त्यो साहु एक बुढो र अनाकर्षक व्यक्ति थियो जसले व्यवसायीको छोरीलाई मन पराएको थियो।

उसले व्यापारीलाई एक सम्झौता प्रस्ताव गर्ने निर्णय गर्यो जसले उसको ऋण पूरै मेटाउनेछ। तर, उसले व्यापारीकी छोरीसँग बिहे गर्न पाए मात्र ऋण मेटाउने सर्त राख्यो ।

भन्नु पर्दैन, यो प्रस्तावलाई घृणाको नजरले हेरियो।


साहुले भन्यो कि उसले झोलामा दुईवटा ढुङ्गा राख्छ, एउटा सेतो र एउटा कालो।

त्यसपछि छोरीले झोलामा पुगेर एउटा ढुङ्गा निकाल्नुपर्छ। यदि त्यो कालो निस्कियो भने ऋण मेटाइनेछ तर बुढो साहुले उनीसँग विवाह गर्नेछ। सेतो भए ऋण मेटिनेछ र छोरीले साहुसँग बिहे पनि गर्नुपर्दैन ।

व्यापारीको बगैँचामा ढुङ्गाले भरिएको बाटोमा उभिएर साहुले झुकेर दुईवटा ढुङ्गा उठायो।

जब उसले तिनीहरूलाई उठाउँदै थियो, छोरीले देखी कि उसले दुईवटा कालो ढुङ्गाहरू उठाएर झोलामा राख्यो।


त्यसपछि उसले साहुकी छोरीलाई झोलामा पुगेर एउटा निकाल्न भन्यो।

छोरीसँग स्वाभाविक रूपमा गर्न सक्ने तीनवटा विकल्पहरू थिए:

  • झोलाबाट ढुङ्गा उठाउन अस्वीकार गर्ने।
  • झोलाबाट दुवै ढुङ्गा निकाल्ने र धोखाको लागि साहुको पर्दाफाश गर्ने।
  • झोलाबाट कालो छ भन्ने राम्ररी बुझेर एउटा ढुङ्गा निकाल्ने र आफ्नो बुबाको स्वतन्त्रताको लागि आफुलाई बलिदान दिने।

उनले झोलाबाट एउटा ढुङ्गा निकालिन् र कसैले हेर्नुअघि नै अन्य ढुङ्गाको बीचमा फ्याँकिदिइन्। उनले साहुलाई भनिन्, “ओहो ! म कति बेकार छु। ढुंगा निकाल्दा निकाल्दै खस्यो। अब कसरी छुट्याउने की मैले कुन ढुंगा निकालें ।”


उनले जुक्ति लगाएर भनिन्, ” एउटा उपाय छ । यदि तपाईंले झोलामा बाँकी रहेको ढुंगा हेर्नुभयो भने तपाईंले मैले कुन ढुङ्गा उठाएको हो भनेर बताउन सक्नुहुनेछ।”


झोलामा छोडिएको ढुङ्गा स्पष्ट रूपमा कालो नै छ । साहुले आफ्नो पोल खुलाउन नचाहेर छोरीले खसालेको ढुङ्गा सेतो हो भनेर स्वीकार्यो र व्यापारीको ऋण मिनाहा गरिदियो।


नैतिक पाठ: नवीन जुक्ति र उपायले असम्भव देखिने समस्याको हल निस्किन्छ । त्यसकारण, समस्या आउँदा ‘बाक्साभन्दा बाहिर गएर सोँच्नुपर्छ’ ।

यो कस्तो मूर्ख राजा हो, जो शौचालयमा मूला खान्छ !

clever servant story in nepali,

 मीर नाम गरेको राजाको दरबारमा काम गर्ने एक नोकर थियो। एक दिन धनी व्यापारीकी छोरीको बिहे थियो । मीरले विवाह समारोहमा उपस्थित हुने निर्णय गर्यो। ऊ व्यापारीको घरमा पुगेर राज्यका धनी मानिसहरूका लागि राखिएको एउटा सिटमा बस्यो।

जब व्यापारीले यो देख्यो, ऊ हतारिएर मीरकहाँ गयो र उसलाई कुर्सीबाट उठ्न भन्यो।

मीर अपमानित हुनुको साथै क्रोधित पनि भयो। उसले यो भयानक अपमानको बदला लिने एउटा उपाय सोँच्यो।


भोलिपल्ट मीर राजाको दरबारमा काममा गयो । राजा उतिर आउँदैछन् भन्ने राम्ररी थाहा पाएर ऊ चर्को स्वरले गुनगुनाउन थाल्यो। उसले भन्यो, “ओहो, राजाको जीवनसाथी ! उनी दरबारमा भन्दा धेरै समय व्यापारीको निवासमा बिताउँछिन्! “


मीरको यस्तो कुरा सुनेर राजा छक्क परे ! उनले मीरको हात समातेर हताश भएर कराए, “तिमीले भनेको कुरा प्रमाणित गर्न सक्छौ ? सावधान मीर ! यस्ता कुरा बोलेर रानी र मेरो अपमान गर्दै छौ।”

मीरले जवाफ दियो, “महाराज! मैले के भनेको थिएँ मलाई थाहा छैन। मैले हिजो राती धेरै रक्सी पिएको थिएँ र केहि कुरा आफैँ बकिरहेको छुँ। कृपया मलाई माफ गर्नुहोस्। “


राजा शान्त भए तर उक्त कुराले राजाको मनमा शंकाको जरा गाडेको थियो।


उनले उक्त व्यापारीलाई दिएका सबै अनुदान र ऋण तुरुन्तै बन्द गरिदिए । साथै, राजाको दरबारमा बसेको पदबाट बाहिर निकालिदिए। व्यापारीले थाह पाउन सकेन कि राजा किन अचानक उनीसँग यति रिसाए।


उनले राजासँग भेट्ने र समस्याको बारेमा कुरा गर्ने निर्णय गरे। तर, राजाका गार्डहरूले उनलाई भित्र पस्न दिएनन् ।


संयोगले मीर त्यहाँबाट गुज्रिरहेको थियो। व्यापारी समस्यामा परेको देखेर मीरले पहरेदारहरूकहाँ गएर चर्को स्वरमा भन्यो, “उनी राज्यको सबैभन्दा धनी व्यापारी र धेरै सम्मानित व्यक्ति हुन् भनेर तिमीहरुलाई थाहा थिएन ? “


मीरको कुरा सुनेर पहरेदारहरूले व्यापारीलाई भित्र पस्ने अनुमति दिए।

जब व्यापारी घर फर्किए तब उनले आफ्नी छोरीको विवाह समारोहमा मीरसँग गरेको अन्याय महसुस गरे। त्यसैले उनी भोलिपल्ट बिहान दरबारमा फर्किए र मीरसँग माफी मागे। उसलाई घरमा बोलाएर चाँदीको सिक्काको थैली उपहार दिए।


अब मीरले व्यापारीमाथि गरेको षड्यन्त्र फिर्ता गर्ने निर्णय गर्यो।

त्यसैले भोलिपल्ट महलमा काम गरिरहेको बेला राजालाई आफूतिर हिँडिरहेको देखेर फेरि चर्को स्वरमा गनगन गर्न थाल्यो । उसले भन्यो, “कस्तो मूर्ख राजा रहेछ यो साम्राज्यको! उसले शौचालयमा मूला खान्छ! “


यो सुनेर राजा छक्क परे । त्यसपछि उसले मनमनै सोँचे, “यदि मिरले मदिराको अवस्थामा मेरो बारेमा यस्तो नभएको कुरा भन्न सक्छ भने उसले केही दिन अघि व्यापारी र रानीको बारेमा पनि झूटो बोलेको हुनुपर्छ। “


राजाले महसुस गरे कि उनले व्यापारीप्रति हतारमा निर्णय लिए र व्यापारीलाई दरबारमा पुन: आमन्त्रित गरे।


नैतिक पाठ: शक्तिकेन्द्रको नजिक भएको मान्छेलाई अपमान गर्न हुँदैन चाहे त्यो नोकर नै किन नहोस् !

भगवानलाई भेट्दा पनि आफ्नो बारेमा केही नमागेको केटो !

buddha and poor boy,

 एउटा शहरमा एक जना परिश्रमी तर गरिब केटो एक्लै बस्थ्यो । ऊ आफ्नो हातमुख जोड्नको लागि दिनभर मेहनत गर्थ्यो । साँझ घर आएर खाना खान्थ्यो र त्यही खानाबाट भोली बिहानको लागि साँचेर राख्थ्यो । अनि ऊ सुत्न जान्थ्यो । हरेक दिन जसो एउटा मुसा आएर उसले साँचेको खाना खाईदिन्थ्यो । यसरी, ऊ सधैँजसो बिहान भोकै काममा जान्थ्यो ।

एकदिन दिक्क मानेर उसले मुसालाई समात्ने निर्णय गर्यो । राती मुसा आएर खाना चोर्न लाग्दा उसले मुसालाई पासोमा पार्यो । त्यसपछि, मुसालाई उसले सोध्यो, “ए मुसा ! तिमी सधैँ मेरो खाना मात्र चोर्न किन आउँछौ ? शहरमा भएका धनीको घरमा जाउ न चोर्नलाई !”


मुसाले जवाफ दियो, ” जसको भाग्यमा जति हुन्छ त्यति नै पाउने हो । मेरो भाग्यमा तिम्रो खाना परेको छ ।”

केटाले सोध्यो, “मेरो भाग्यमा के लेखेको छ ? मलाई बताउ !”

मुसाले भन्यो, “त्यो कुरा तिमीलाई गौतम बुद्धले मात्र बताउन सक्नुहुन्छ।”


केटाले भोलिपल्ट बुद्धलाई भेट्ने अठोट गरी बाटो ततायो । ऊ हिंड्दा हिंड्दै रात पर्यो अनि ऊ बास बस्न एउटा महलमा पुग्यो । महलको मालिक दयालु थियो । उसले केटालाई बस्न र खान राम्रो दियो । मालिकले सोध्यो, ” बाबु ! तिमी कहाँ जान आँटेका छौ?” केटा आफुँ गौतम बुद्धलाई भेट्न जान लागेको बताए । त्यसपछि, मालिकले भने, “त्यसो भए मेरी छोरीको बारेमा पनि सोध्देउ है ! ऊ जवान भईसकी तर उसको बोली फुटेको छैन।” हस भन्दै केटाले टाउको हल्लायो ।


अर्को दिन फेरी ऊ बाटो लाग्यो । बाटोमा उसले हिमालमा तपस्या गरिरहेको एक जना जादुगरलाई भेट्यो । जादुगरले उसलाई कहाँ जान लागेको भनेर सोध्यो । केटाले आफुँ गौतम बुद्धलाई भेट्न जान लागेको बतायो । त्यसपछि, जादुगरले गौतम बुद्धलाई आफ्नो बारेमा पनि सोधिदिन आग्रह गर्यो । उसले भन्यो, “म १०० वर्षदेखि यहाँ तपस्या गरिरहेको छुँ तर अझै मुक्ति पाएको छैन । त्यसैले, मैले कहिले मुक्ति पाउँछु सोधिदेउ है !” ऊ हस भनेर अगाडी बढ्यो । बाटोमा ठूलो समुन्द्र आइपुग्यो । उसले कसरी तर्ने भनेर सोँचीरहेको थियो । त्यहीबेला, अचानक त्यहाँ एक विशाल कछुवा आईपुग्यो र उसले केटालाई समुन्द्र तारिदिने बतायो । कछुवाले पनि आफ्नो बारेमा सोधिदिन केटालाई आग्रह गर्यो । उसले भन्यो, “म ५०० वर्षदेखि तपस्या गरिरहेको छु तर ड्रयागन बन्न सकेको छैन । मेरो इच्छ्या कहिले पूरा हुन्छ सोधिदेउ है !” केटाले हस भनी हिंड्यो । त्यही दिन साँझ केटो गौतम बुद्ध भएको आश्रममा पुग्यो ।


गौतम बुद्ध दिनभरको प्रवचन सकेर आराम गर्न कुटीतिर जान लाग्नुभएको थियो । केटाले दण्डवत गर्दै बुद्धलाई आफ्नो प्रश्नको जवाफ दिन भन्यो । बुद्धले भन्नुभयो, “मैले केवल तिम्रो ३ वटा प्रश्नको जवाफ दिन सक्छु । प्रश्न सोध !”


केटाले आफ्नो भन्दा अरुका प्रश्न महत्त्वपूर्ण भएको ठानेर अरुका तीनवटा प्रश्न सोध्न थाल्यो । पहिलो प्रश्नमा उसले लाटी केटी कहिलेबाट बोल्ने छिन् भनेर सोध्यो । बुद्धले जवाफ दिनुभयो, “उक्त केटीको बिहे भएपछि ऊ बोल्न थाल्छे ।”


दोश्रो प्रश्नमा उसले १०० वर्षदेखि तपस्या गरिरहेको जादुगर कहिले मुक्त हुन्छ भनेर सोध्यो। बुद्धले जवाफ दिनुभयो, “जब त्यो जादुगरले आफ्नो जादुको छडी त्याग्छ, तब ऊ मुक्त हुन्छ।”


तेस्रो प्रश्नमा उसले त्यो ५०० वर्षदेखि समुन्द्रमा तपस्या गरिरहेको कछुवाको बारे सोध्छ । बुद्धले भन्नुभयो, ” जब त्यो कछुवाले आफ्नो कवच छोड्ने छ, तब ऊ ड्रयागन बन्ने छ ।”


आफ्नो प्रश्नहरुको उत्तर पाएर केटो खुसी हुन्छ । अर्को दिन ऊ आफ्नो शहर फर्किन हिंड्छ । बाटोमा सर्वप्रथम कछुवालाई भेट्छ र उसको उत्तर दिन्छ । कछुवाले आफ्नो कवच त्यागेर केटालाई दिन्छ जसमा हीरा, मोती जडिएका हुन्छन् । कछुवा पनि कवच त्याग्दा बित्तिकै ड्रयागन बनिहाल्छ ।


त्यसपछि, केटाले जादुगरलाई भेट्छ । जादुगरलाई जादुको छडी छाड्न बुद्धले दिएको संदेश सुनाउँछ । जादुगरले आफ्नो जादुई छडी केटालाई दिन्छ । छडी त्यागेपछि जादुगर मुक्त भई आकाशमा विलिन हुन्छ ।

जादुको छडी घुमाएर केटो सिधै आफूलाई बास दिएको धनीको घरमा आउँछ । अनि मालिकलाई बुद्धको उत्तर सुनाउँछ । मालिकले बिहे गर्नलाई केटोलाई नै प्रस्ताव गर्छन् । केटोले खुसी भई प्रस्ताव स्वीकार गर्छ र केटी पनि बोल्न थाल्छिन् ।


यसरी, एउटा गरिब केटाले भगवानलाई भेट्दा पनि आफूभन्दा अरुलाई अघि सारेर, अरुको भलो चिताएर एक समृद्ध र सुखी मान्छे बन्न सफल भयो ।

भगवानले देख्छन् , अनि मैले देख्छु !

bhagawan le dekhxan,

 एक समयको कुरा हो एउटा मान्छे नयाँ बन्दै गरेको मन्दिरको मूर्ति हेर्नको लागि जान्छ । मन्दिरमा उसले देवताको मूर्ति बनाउँदै गरेको मूर्तिकारलाई भेट्छ । त्यहाँ उसले एउटा अचम्भको कुरा देख्छ । मूर्तिकारले एउटै जस्तो देखिने मूर्ति दुई पटक बनाईरहेको थियो । आश्चर्यमा परेर उसले मूर्तिकारलाई सोध्छ, “तिमी एउटै मूर्ति किन दुई पटक बनाईरहेका छौ?”

मूर्तिकारले जवाफ दियो, “वास्तवमा मैले एउटै मूर्ति बनाउन पर्ने हो तर उक्त मूर्ति सकिनै लाग्दा कोरिएर दाग लाग्यो । त्यसकारण, फेरी बनाउन लागेको हो ।”


मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छेले मूर्तिलाई नियालेर हेर्यो तर केही पनि खोट पत्ता लगाउन सकेन । उसले भन्यो, “खोई कहाँ कोरिएको छ, मैले त भेटेन !”


मूर्तिकारले नाकमा लागेको सानो दाग देखाएर भन्यो, “यहाँ हेर्नुहोस् । नाकमा अलिकति कोरिएको छ ।”

“यो मूर्ति कहाँनिर राख्ने हो?”, त्यो मान्छेले सोध्यो ।


“मूर्तिलाई ३० फिटको उचाईमा राखिनेछ,” मूर्तिकारले जवाफ दियो ।


“३० फिटको उचाईमा राखिने भए, यो नाकमा लागेको सानो दाग कसले पो देख्छ र ?” उक्त मान्छेले जिज्ञासा राख्यो ।


त्यो मान्छेको कुरा सुनेपछि मूर्तिकारले मुस्कुराउँदै भने, “भगवानले देख्छन् , अनि मैले देख्छु।”

मेरो बाटोमा अड्चन हाल्ने को हो ?

bato ma awarodh,

 एक बिहान, एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारी कार्यालय बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचनामा लेखिएको थियो – “हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको मृत्यु भयो । सबै कर्मचारी साथीहरुलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध गरिन्छ।”

सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न इच्छुक थिए कि आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो ।


श्रद्धान्जली दिन एक एक गरेर कर्मचारीहरू कफिन नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै आश्चर्यचकित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तरआत्मालाई झक्झकायो । कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।


ऐनासँगै एउटा कागजमा ठूला अक्षरमा लेखिएको थियो – “तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुनै सक्दैन ।”


नैतिक पाठ: हाम्रो जीवन तबसम्म परिवर्तन हुँदैन जब सम्म हामी आफ्नो जीवनको लागि जिम्मेवारी लिँदैनौं । हाम्रो जीवनमा आज सम्म जे भयो र जे भएन त्यसको लागि हामी नै जिम्मेवार छौँ, अरु होइन !

बाबुछोराको प्रेरणादायी कथा !

bau chhora story in nepali,

 कुनै एक शहरमा एक जना मूर्तिकार बस्थे । उनी निकै राम्रो मूर्ति बनाउँथे । उनले मूर्ति बेचेर राम्रो आम्दानी गर्थे । उनलाई चाँडै नै एक पुत्र प्राप्ति भयो । उनले सानैदेखि छोरालाई पनि मूर्ति बनाउन सिकाए । छोराले पनि मेहनत गरेर काम सिक्न थाल्यो ।

उनीहरुको आम्दानी दोब्बर भयो । दुवैजना निकै खुसी थिए । तर, प्रत्येक चोटी छोराले बनाएको मूर्तिमा बाबुले केही न केही खोट निकाल्थे । छोराले त्यसलाई सहजरुपमा लिँदै अझै राम्रो कला सिर्जना गर्थ्यो । यसरी, दिनहरु बित्दै गए । छोरा अब जवान भईसकेको थियो । उसले बाबुले भन्दा पनि राम्रो मूर्ति बनाउन थाल्यो । उसको मूर्ति बाबुको भन्दा बढीमा बिक्न थाल्यो । त्यैपनि, बाबुले प्रत्येक पटक उसले बनाएको मूर्तिमा खोट निकाल्न छोडेनन् । यो देखेर छोरालाई दिक्क लाग्न थाल्यो । बाबु हुन् भनेर उसले चुपचाप सहेर अझै मेहनत गर्न थाल्यो र ऊ त्यस शहरको सर्वश्रेष्ठ मूर्तिकार बन्यो ।


यति हुँदा हुँदै पनि बाबुले उसको मूर्तिमा कमजोरी देखाईदिन्थे । यो सुनेर छोराको धैर्यको बाँध टुट्यो । उसले बाबुलाई जवाफ फर्कायो, “बुबा! हजुरलाई त्यति धेरै आउँछ भने आफ्नो मूर्तिलाई अझ राम्रो बनाउनुहोस् न ! मलाई सुझाव दिन छोड्नुहोस् । मैले बनाउने मूर्ति उत्तम छ ।”


त्यस दिनदेखि बाबुले छोरालाई सुझाव दिन छाडे । केही महिना छोराले आनन्दले दिन बितायो । केही समयपछि उसको मूर्तिहरु कम बिक्न थाले । मानिसहरुलाई उसको मूर्तिमा रुचि हराउन थाल्यो। उसलाई अचम्भ लाग्यो । उसले सोँच्यो, ” आखिर यो के भई रहेको छ !”


केही सीप नलागेपछि ऊ आफ्नो बाबुलाई भेट्न गयो । उसको हालत देखेर बाबु मुस्कुराए । छोराले सोध्यो, ” के तपाईंलाई पहिल्यै थाहा थियो मेरो यस्तो हालत हुन्छ भनेर?” बाबुले हो भन्दै टाउको हल्लाए । उनले भने, ” हो छोरा ! मलाई थाहा थियो किनभने आज भन्दा २० वर्ष अगाडी मेरो हालत तिम्रो जस्तै भएको थियो। तिम्रो हजुरबुवा र मेरो यस्तै मनमुटाव भएको थियो ।”


छोराले आँसु झार्दै भन्यो, ” थाहा थियो भने मलाई किन सम्झाउनु भएन?”


बाबुले भने, ” यसका दुई कारण छन् । पहिलो कारण त्यो बेलामा तिमी यति अहंकारी भएका थियौ कि तिमीले मेरो कुरा बुझ्ने थिएनौ । अर्को कारण, तिमीले जीवनमा असफलता भोगेकै थिएनौ । सफल व्यक्तिहरुको लागि सफलता भन्दा असफलताको अनुभव निकै महत्त्वपूर्ण हुन्छ ।”


बाबुले भन्दै गए, ” मलाई थाहा छ मैले तिमीले जस्तो राम्रो मूर्ति बनाउन सक्दिन । अनि मैले दिएको सुझाव सबै राम्रा नहुन पनि सक्छन् । तर, मैले तिम्रो मूर्तिमा कमजोरी देखाउँदा तिमीले त्यसलाई अझै उत्कृष्ट बनाउँछु भनेर लागिपर्थ्यौ । तिमीलाई लाग्थ्यो अझै उत्कृष्ट बनाउन सकिन्छ भनेर ! त्यो कुराले नै तिमीमा निखार ल्याईरहेको थियो र त्यही नै तिम्रो सफलताको कुञ्जि थियो ।”


बाबुछोराले एकअर्कालाई अङ्कमाल गर्दै हर्षका आँशु खासाले । छोराले फेरि मेहनत दोब्बर गर्दै उत्कृष्ट मूर्ति बनाउन थाल्यो ।


नैतिक पाठ: जब हामी सोँच्छौँ अब केही सिक्नु छैन, त्यहाँबाट हाम्रो दुर्गति सुरु हुन्छ ।

अवरोधमा लुकेको अवसर चिन्ने कसरी ?

awarodh ma lukeko

 पुरातन समयको कुरा हो, एक राजाले बाटोमा भीमकाय ढुङ्गा राखे। त्यसपछि उनले त्यो ढुङ्गा बाटोबाट कसले हटाउँछ भनेर लुकेर हेर्न बसे। राजाका केही धनी व्यापारीहरू तथा दरबारीहरू बाटोमा आए र ढुंगाको वरिपरि घुमेर बाटो लागे।

सडक सफा नगरेको भन्दै धेरैले राजालाई चर्को स्वरमा गाली गरे तर ढुङ्गा हटाउने काम कसैले गरेनन् ।

त्यसपछि एक किसान तरकारी बोकेर आए । ढुङ्गाको छेउमा पुगेपछि किसानले आफ्नो भारी राखे र ढुङ्गालाई सडकबाट बाहिर निकाल्ने प्रयास गरे। धेरै प्रयास पछि उनी अन्ततः सफल भए।


कृषकले ढुंगा हटाए पछि त्यहाँ एउटा झोला भेट्टाए । झोलामा धेरै सुनका सिक्का र पैसा थियो। त्यहाँ एउटा चिठी पनि थियो जसमा लेखिएको थियो कि यो झोला सडकबाट ढुङ्गा हटाउने व्यक्तिको लागि पुरस्कार हो।


नैतिक पाठ:
हामीले जीवनमा सामना गर्ने हरेक बाधाले हामीलाई हाम्रो परिस्थिति सुधार गर्ने अवसर दिन्छ। त्यसैले, झर्को नमानी बाधा हटाउन लाग्नुपर्छ ।

स्टेफेन हकिंग: हरेक नियम तोडेर अमर भएको वैज्ञानिक !

stephne hauking,

 स्टेफेन हकिंगको नाम नसुनेको कोही बिरलै व्यक्ति होला । उनलाई अल्बर्ट आइन्स्टाइनपछि जन्मेको सबभन्दा महान वैज्ञानिक मानिन्छ । उनको जन्म जनवरी ८, १९४२ मा भएको हो । उनी २१ वर्षको हुँदा उनलाई ‘एमीट्रोफिक लेटरल स्क्लेरोसिस’ भन्ने एक खतरनाक रोग लाग्यो जसले गर्दा उनको शारीरिक अङ्गहरुले एक एक गर्दै काम गर्न छोडे । डक्टरले उनी जम्मा २ वर्ष बाँच्ने घोषणा गरेका थिए । तर, हकिंग यस्ता जबर्जस्त जिद्दी मान्छे थिए की उनी अर्को ५५ वर्ष बाँचे र ब्ल्याक होलजस्ता ब्रह्माण्डका अद्भुत कुराहरु अध्ययन गरी वैज्ञानिक दुनियाँमा आफ्नो प्रगाढ छाप छोड्न सफल भए ।

उनले एक किताब लेखेका छन् ‘ब्रिफ हिस्ट्री अफ टाइम’ । यस पुस्तकमा उनले ब्रह्माण्डको सुरुवात देखि अहिले सम्मको कहानी छोटकरीमा बताएका छन् ।हकिंगले मुख्य रूपमा सामान्य सापेक्षताको क्षेत्रमा र विशेष गरी ब्ल्याक होलको बारे अध्ययन गरे।


१९७१ मा उनले बिग ब्याङ्ग पछि, एक अरब टन जति द्रव्यमान भएका तर प्रोटोनको ठाउँ मात्र ओगटेका असंख्य वस्तुहरूको गठनको सुझाव दिए। यी वस्तुहरू, जसलाई मिनी ब्ल्याक होल भनिन्छ, यति अद्वितीय छन् कि तिनीहरूको विशाल द्रव्यमान र गुरुत्वाकर्षणले तिनीहरूलाई सापेक्षताको नियमहरूद्वारा शासन गर्न आवश्यक छ । तिनीहरूको सुक्ष्म आकारले तिनीहरूमा पनि क्वान्टम मेकानिक्सको नियमहरू लागू गर्न आवश्यक छ।


सन् १९७४ मा हकिंगले क्वान्टम थ्योरीको भविष्यवाणी अनुसार ब्ल्याक होलले आफ्नो उर्जा समाप्त नहुन्जेल र अन्तमा विस्फोट नहुँदासम्म उपपरमाणविक कणहरू उत्सर्जन गर्ने प्रस्ताव राखेका थिए। हकिंगको कामले ब्ल्याक होलका गुणहरूलाई सैद्धान्तिक रूपमा चित्रण गर्ने प्रयासहरूलाई धेरै प्रोत्साहन दियो, जसको बारेमा पहिले केहि पनि थाहा हुन सक्दैन भनेर सोँचिएको थियो। उनको काम पनि महत्त्वपूर्ण थियो किनभने यसले यी गुणहरूलाई शास्त्रीय थर्मोडायनामिक्स र क्वान्टम मेकानिक्सको नियमसँग सम्बन्ध देखाएको थियो।

यसरी, विश्वलाई ब्रह्माण्डको बारेमा यति धेरै आश्चर्यजनक कुराहरुको सौगात दिएर हकिंगले २०१८ मा आफ्नो भौतिक शरीर छाडेर गए । तर, उनको विज्ञानप्रतिको लगाव, कामप्रतिको एकाग्रता र हरेक नियम तोडेर शानसँग बाँच्ने जीजीविशाले यस पृथ्वीका हरेक विद्रोही स्वभावका व्यक्तिलाई सदा उत्प्रेरित गर्नेछ ।

प्रोत्साहनको शक्ति निकै बलशाली हुन्छ !

frogs motivaton

भ्यागुताहरूको एउटा समूह जङ्गलबाट यात्रा गर्दा तिनीहरूमध्ये दुईजना गहिरो खाडलमा खसे। जब अन्य भ्यागुताहरूले खाडलको वरिपरि भीड गरे र खाडल धेरै गहिरो भएको देखे, तब तिनीहरूले ती दुई भ्यागुताहरूलाई भने कि तिनीहरूको लागि कुनै आशा बाँकी छैन।

तर, ती दुई भ्यागुताले अरूले भनेको कुरालाई बेवास्ता गर्ने निर्णय गरे र खाडलबाट बाहिर निस्किने प्रयास गरे।

तिनीहरूको प्रयासको बावजुद, खाडलको शीर्षमा भ्यागुताहरूको समूहले अझै पनि तिनीहरूले हार मान्नु पर्छ भनिरहेका थिए। तिनीहरू यस खाडलबाट कहिल्यै बाहिर आउन सक्दैनन् भनिरहेका थिए।


अन्ततः एउटा भ्यागुताले अरूको भनाइलाई ध्यान दियो। उसले हार खायो र मृत्युवरण गर्यो। अर्को भ्यागुताले सक्दो जोडले हाम फाल्न थाल्यो। फेरि, भ्यागुताहरूको भीडले उसलाई पीडा रोक्न र मर्न भनेर कराउन थाले।

उसले अझ कडा हाम फाल्यो र अन्ततः खाडलबाट बाहिर निस्कियो। जब ऊ बाहिर निस्क्यो, अरू भ्यागुताहरूले भने, “तिमीले हाम्रो कुरा किन सुनेनौ?”


ज्यान जोगाउने भ्यागुताले उनीहरूलाई आफू बहिरो भएको बतायो। उसले सोच्यो कि तिनीहरूले उसलाई सम्पूर्ण समय प्रोत्साहन मात्र दिईरहेका थिए।


नैतिक पाठ:

मानिसहरूको बोलीले अरूको जीवनमा ठूलो प्रभाव पार्न सक्छ। तपाईको मुखबाट शब्द निस्कनु अघि तपाईले के भन्नुहुन्छ भनेर सोच्नुहोस्। बोली जीवन र मृत्यु बीचको फरक हुन सक्छ।