एक समयको कुरा हो एउटा मान्छे नयाँ बन्दै गरेको मन्दिरको मूर्ति हेर्नको लागि जान्छ । मन्दिरमा उसले देवताको मूर्ति बनाउँदै गरेको मूर्तिकारलाई भेट्छ । त्यहाँ उसले एउटा अचम्भको कुरा देख्छ । मूर्तिकारले एउटै जस्तो देखिने मूर्ति दुई पटक बनाईरहेको थियो । आश्चर्यमा परेर उसले मूर्तिकारलाई सोध्छ, “तिमी एउटै मूर्ति किन दुई पटक बनाईरहेका छौ?”
मूर्तिकारले जवाफ दियो, “वास्तवमा मैले एउटै मूर्ति बनाउन पर्ने हो तर उक्त मूर्ति सकिनै लाग्दा कोरिएर दाग लाग्यो । त्यसकारण, फेरी बनाउन लागेको हो ।”
मूर्तिकारको जवाफ सुनेपछि त्यो मान्छेले मूर्तिलाई नियालेर हेर्यो तर केही पनि खोट पत्ता लगाउन सकेन । उसले भन्यो, “खोई कहाँ कोरिएको छ, मैले त भेटेन !”
मूर्तिकारले नाकमा लागेको सानो दाग देखाएर भन्यो, “यहाँ हेर्नुहोस् । नाकमा अलिकति कोरिएको छ ।”
“यो मूर्ति कहाँनिर राख्ने हो?”, त्यो मान्छेले सोध्यो ।
“मूर्तिलाई ३० फिटको उचाईमा राखिनेछ,” मूर्तिकारले जवाफ दियो ।
“३० फिटको उचाईमा राखिने भए, यो नाकमा लागेको सानो दाग कसले पो देख्छ र ?” उक्त मान्छेले जिज्ञासा राख्यो ।
त्यो मान्छेको कुरा सुनेपछि मूर्तिकारले मुस्कुराउँदै भने, “भगवानले देख्छन् , अनि मैले देख्छु।”
No comments:
Post a Comment