Showing posts with label lord buddha and hinduism. Show all posts
Showing posts with label lord buddha and hinduism. Show all posts

Monday, January 24, 2022

गौतम बुद्धका विचार किन दर्शन विरोधी थिए ?

गौतम बुद्धका विचार किन दर्शन विरोधी थिए ?

ईश्वर, जीवन-जगतको शाश्वतता आदि बारे प्रश्न सोधिदा उनी किन मौन रहन्थे? उनको यो मौनता पछाडी एउटा निश्चित विचार-धारा लुकेको हुनुपर्छ । आउनुहोस् यस बारे चर्चा गरौँ है त !

१. मानवको बुद्धिले जीवन जगत्, ईश्वर, परमात्मा आदि बारे पूर्णतया जान्न असम्भव छ किनभने जसरी खोलाले नदी नाप्न सक्दैन, नदीले समुन्द्र नाप्न सक्दैन, त्यसरी नै मानव बुद्धिले भगवान नाप्न सक्दैन । कुनै चिज नाप्नको लागि त्यो चिज भन्दा ठूलो या बराबर संयन्त्र चाहिन्छ । मानव बुद्धि भगवान बराबर पक्कै होइन । शाङ्ख्य दर्शनले पनि भन्छ “ईश्वरासिद्दे” अर्थात् ईश्वरलाई प्रमाणित गर्न सकिंदैन किनभने प्रमाण मनको काम हो र ईश्वर मन भन्दा माथि निकै विशाल र सुक्ष्म हुनुहुन्छ । ईश्वरलाई आफै भित्र अनुभव मात्र गर्न सकिन्छ, अरुलाई प्रमाण दिन सकिन्न ।

२. दु:खी संसारमा जहाँ लगभग १००% मानिस दु:खी छन्, उनीहरुले सुरुमा आफ्नो दु:ख निवृत्तिको लागि दु:खको कारण खोजी त्यसको निवारणमा लाग्नुपर्छ, न कि सुरुवातमै ईश्वरलाई जान्ने-बुझ्ने चेष्टा गर्नु या ईश्वर छ छैन भनी तर्क-वितर्क गर्नु । बुद्धले एउटा उपमा दिनुहुन्थ्यो कि कोही व्यक्तिलाई तीर लागेको छ भने पहिला त्यो तीरलाई सावधानीले निकाली घाउ निको पार्नु व्यावहारिक हुन्छ । तर तीर ननिकाली यो तीर कसले हान्यो, यसको लम्बाई कति छ, यो तीर जड होकी चेतन आदि सोचेर समय बर्बाद गर्नु लापर्वाही मात्र नभई ज्यानमारा संयोग पनि हुनसक्छ । त्यसकारण, सर्वप्रथम दु:ख निराकरण गर, सुख-दु:खभन्दा माथिको आनन्दमा स्थित होऊ । त्यसपछि, ज्ञानचक्षु खुले पछि यी दार्शनिक प्रश्नहरुको जवाफ आफूभित्रै पाउनेछौ । त्यसकारण, भगवान बुद्धले मात्र दु:ख निवारणका उपाए सिकाउनु भयो, दर्शन बनाउन लाग्नु भएन ।

बुद्ध र शंकराचार्य यही कुरामा भिन्न भिन्न देखिनुहुन्छ । तर दुबैको मार्ग ईश्वरप्राप्ति या मोक्षको नै हो । आदि शंकराचार्यको विचारधारालाई अंगिकार गर्ने हो भने दर्शन र दु:ख निवारणको साधना साथ साथ अगाडि बढ्न सक्छ । सुरुवातमा दर्शनले साधकलाई प्रेरणा दिन्छ अगाडि बढ्नलाई र अन्तिममा उसले आफैभित्र दर्शन पाउँछ। “वादे वादे जायते तत्त्वबोध:” भनिएको छ । अर्थात्, दार्शनिक कुरामा चर्चा गर्दा गर्दै पनि तत्त्वबोध हुन सक्छ । यसकारण यी दुई महान ऋषि बुद्ध र शंकराचार्यको विचारलाई समन्वय गरेर साधनामा अगाडि बढ्नु नै साधकलाई उचित हुन्छ जस्तो लाग्छ । ओम् !


 

बौद्ध धर्म र अनात्म !

 

बौद्ध दर्शन नित्य आत्माको सिद्धान्तलाई स्वीकार गर्दैन।

फेरी त्यही दर्शनमा भनिएको छ कि व्यक्तिको कर्म अनुसार उसलाई पुनर्जन्म मिल्छ, निर्वाण नपाउँदा सम्म। यदि नित्य आत्माको अस्तित्व छैन भने पुनर्जन्म चाहिँ कसको हुन्छ त? यो टड्कारो प्रश्न हो।

बौद्ध दर्शनमा यस कुरालाई पन्छ्याउनलाई निकै अचम्मको वर्णन पाइन्छ। जस्तो कि व्यक्तिको मन, वाणी आदिको भिन्न-भिन्न ठाउँमा पुनर्जन्म हुनसक्छ रे ! यस्तै कुरा बौद्ध दर्शनमा आधारित "लिटिल बुद्ध" भन्ने चलचित्रमा पनि देखाइएको थियो।

यसबाट बौद्ध दर्शन स्वयंमै बाझिएको देखियो। तर यो सबै भ्रम र अन्योलको पछाडी एउटा सरल उत्तर यस्तो हुनसक्छ: " सायद गौतम बुद्धले नित्य आत्मालाई भित्रबाट स्वीकार गर्थे र उनले निर्वाणमा अनुभूति गरेको पनि शून्यता नभई आत्मा नै हो। तर उनले यो कुरा बाहिर व्यक्त गरेनन्। किनभने त्यो बेलाको समाजमा उनले आत्मा, वेद आदिलाई स्वीकार गरिदिएको भए, जुन त्यो बेला रुडीवादी पण्डितहरुको शोषण थियो (बलि, दक्षिणा, जातपात आदि ) बाट हिन्दू समाज कहिल्यै मुक्त हुन सक्ने थिएन ! बुद्ध करुणाको अवतार भएको हुनाले जनतालाई धार्मिक शोषणबाट मुक्त गराउनको लागि सब पूराना शास्त्रहरुलाई नकार्न पनि पछि परेनन्।"

गौतम बुद्धलाई हिन्दूहरुको नवौँ अवतार पनि मानिन्छ। भनिन्छ, उनी हिन्दू धर्मको विकृति सुधार गर्न आएका थिए। त्यसैले, उनले नयाँ सम्प्रदाय बनाए र हिन्दूहरुलाई सुध्रिन कर लाग्यो।

बुद्धले आफुले प्रवर्तन गरेको धर्म सधैँ रहिरहने सनातन होइन भनेर पनि स्वीकार गरेका छन्। किनभने उनलाई थाहा थियो कि सनातन वैदिक धर्म नै सधैँ रहिरहन्छ भनेर। पछि आदि शंकराचार्य आएर त्यो कामलाई फत्ते गर्नुभयो अर्थात् सारा भारतखण्डबाट बुद्धधर्मलाई तर्कबाट जितेर सनातन हिन्दू धर्म पुन: भित्र्याउनु भयो सुधारिएको रूपमा।

आखिर यो सब अरु केही नभएर परमात्माको खेल थियो सनातन धर्मको बाह्य विकृतिलाई सुधार्ने बुद्ध र शंकराचार्यको अवतार लिएर। भनिन्छ शंकराचार्य गौतम बुद्धकै पुनर्जन्म हुन्। बुद्ध करुणाका अवतार थिए भने शंकराचार्य प्रखर बुद्धि "धी" का अवतार ! यसकारण, स्वामी विवेकानन्द भन्नुहुन्छ, ''बुद्धको जस्तो मुटु र शंकराचार्यको जस्तो बुद्धि भएको व्यक्ति नै परमात्माको सच्चा प्रतिमूर्ति हुनसक्छ। हरेक व्यक्तिको आदर्श पनि यी दुईको गुण आफुमा अवतरण गराउने हुनुपर्छ।''

तर यो कुरा नबुझेर बुद्धको देहत्याग पछिका बौद्ध दार्शनिकहरुले आफ्नो मत आस्तिक सिद्धान्तका विरुद्ध प्रतिपादन गर्ने गर्थे। यही आक्रमणबाट हिन्दू आस्तिकता (आत्मवाद ) लाई जोगाउनको लागि गौतम ऋषिले 'न्याय दर्शन' को रचना गर्नुभएको हो जसमा भगवान र आत्मालाई तर्क दिएर प्रमाणित गरिएको छ।

'न्याय दर्शन' को रचनाकाल (ईशा पूर्व ६ देखि ५ वौं शताब्दी) लाई हेर्दा पनि यो कुरा सिद्ध हुन्छ किनभने गौतम बुद्धको देहत्याग पछि यो दर्शन सृजना भएको देखिन्छ।

छोडौँ यी सब तर्क वितर्कका कुरा! आज नेपालमा पनि हिन्दू र बौद्ध दाजुभाईहरु मिलेर एक ढिक्का भएर अगाडी बढ्नुपर्ने स्थिति सृजना भएको छ। यदि हिन्दू र बौद्ध धर्मावलम्बी बीच एकता भएन भने नेपालबाट दुबैको अस्तित्व मेटिने सम्भावना हुन्छ! सर्वविधित नै छ नेपालमा मिसनरीहरुको व्यापक चलखेल जसले धर्मको नाममा राजनीति गरिराखेको छ। "बाइबल पछि बन्दूक आउँछ" भन्ने उखान नै छ अफ्रीकामा !

त्यसैले नेपाली सावधान!

अहिले हामीलाई बुद्ध जस्तो मुटु र शंकराचार्यजस्तो दिमाग भएको देशप्रेमी नेपालीहरुको खाँचो छ। सिधा भन्दा हिन्दू र बौद्धहरु बीच एकताको खाँचो छ। जय नेपाल आमा ! ओम् !