Showing posts with label articles of shreedhar. Show all posts
Showing posts with label articles of shreedhar. Show all posts

Monday, January 24, 2022

गौतम बुद्धका विचार किन दर्शन विरोधी थिए ?

गौतम बुद्धका विचार किन दर्शन विरोधी थिए ?

ईश्वर, जीवन-जगतको शाश्वतता आदि बारे प्रश्न सोधिदा उनी किन मौन रहन्थे? उनको यो मौनता पछाडी एउटा निश्चित विचार-धारा लुकेको हुनुपर्छ । आउनुहोस् यस बारे चर्चा गरौँ है त !

१. मानवको बुद्धिले जीवन जगत्, ईश्वर, परमात्मा आदि बारे पूर्णतया जान्न असम्भव छ किनभने जसरी खोलाले नदी नाप्न सक्दैन, नदीले समुन्द्र नाप्न सक्दैन, त्यसरी नै मानव बुद्धिले भगवान नाप्न सक्दैन । कुनै चिज नाप्नको लागि त्यो चिज भन्दा ठूलो या बराबर संयन्त्र चाहिन्छ । मानव बुद्धि भगवान बराबर पक्कै होइन । शाङ्ख्य दर्शनले पनि भन्छ “ईश्वरासिद्दे” अर्थात् ईश्वरलाई प्रमाणित गर्न सकिंदैन किनभने प्रमाण मनको काम हो र ईश्वर मन भन्दा माथि निकै विशाल र सुक्ष्म हुनुहुन्छ । ईश्वरलाई आफै भित्र अनुभव मात्र गर्न सकिन्छ, अरुलाई प्रमाण दिन सकिन्न ।

२. दु:खी संसारमा जहाँ लगभग १००% मानिस दु:खी छन्, उनीहरुले सुरुमा आफ्नो दु:ख निवृत्तिको लागि दु:खको कारण खोजी त्यसको निवारणमा लाग्नुपर्छ, न कि सुरुवातमै ईश्वरलाई जान्ने-बुझ्ने चेष्टा गर्नु या ईश्वर छ छैन भनी तर्क-वितर्क गर्नु । बुद्धले एउटा उपमा दिनुहुन्थ्यो कि कोही व्यक्तिलाई तीर लागेको छ भने पहिला त्यो तीरलाई सावधानीले निकाली घाउ निको पार्नु व्यावहारिक हुन्छ । तर तीर ननिकाली यो तीर कसले हान्यो, यसको लम्बाई कति छ, यो तीर जड होकी चेतन आदि सोचेर समय बर्बाद गर्नु लापर्वाही मात्र नभई ज्यानमारा संयोग पनि हुनसक्छ । त्यसकारण, सर्वप्रथम दु:ख निराकरण गर, सुख-दु:खभन्दा माथिको आनन्दमा स्थित होऊ । त्यसपछि, ज्ञानचक्षु खुले पछि यी दार्शनिक प्रश्नहरुको जवाफ आफूभित्रै पाउनेछौ । त्यसकारण, भगवान बुद्धले मात्र दु:ख निवारणका उपाए सिकाउनु भयो, दर्शन बनाउन लाग्नु भएन ।

बुद्ध र शंकराचार्य यही कुरामा भिन्न भिन्न देखिनुहुन्छ । तर दुबैको मार्ग ईश्वरप्राप्ति या मोक्षको नै हो । आदि शंकराचार्यको विचारधारालाई अंगिकार गर्ने हो भने दर्शन र दु:ख निवारणको साधना साथ साथ अगाडि बढ्न सक्छ । सुरुवातमा दर्शनले साधकलाई प्रेरणा दिन्छ अगाडि बढ्नलाई र अन्तिममा उसले आफैभित्र दर्शन पाउँछ। “वादे वादे जायते तत्त्वबोध:” भनिएको छ । अर्थात्, दार्शनिक कुरामा चर्चा गर्दा गर्दै पनि तत्त्वबोध हुन सक्छ । यसकारण यी दुई महान ऋषि बुद्ध र शंकराचार्यको विचारलाई समन्वय गरेर साधनामा अगाडि बढ्नु नै साधकलाई उचित हुन्छ जस्तो लाग्छ । ओम् !


 

बौद्ध धर्म र अनात्म !

 

बौद्ध दर्शन नित्य आत्माको सिद्धान्तलाई स्वीकार गर्दैन।

फेरी त्यही दर्शनमा भनिएको छ कि व्यक्तिको कर्म अनुसार उसलाई पुनर्जन्म मिल्छ, निर्वाण नपाउँदा सम्म। यदि नित्य आत्माको अस्तित्व छैन भने पुनर्जन्म चाहिँ कसको हुन्छ त? यो टड्कारो प्रश्न हो।

बौद्ध दर्शनमा यस कुरालाई पन्छ्याउनलाई निकै अचम्मको वर्णन पाइन्छ। जस्तो कि व्यक्तिको मन, वाणी आदिको भिन्न-भिन्न ठाउँमा पुनर्जन्म हुनसक्छ रे ! यस्तै कुरा बौद्ध दर्शनमा आधारित "लिटिल बुद्ध" भन्ने चलचित्रमा पनि देखाइएको थियो।

यसबाट बौद्ध दर्शन स्वयंमै बाझिएको देखियो। तर यो सबै भ्रम र अन्योलको पछाडी एउटा सरल उत्तर यस्तो हुनसक्छ: " सायद गौतम बुद्धले नित्य आत्मालाई भित्रबाट स्वीकार गर्थे र उनले निर्वाणमा अनुभूति गरेको पनि शून्यता नभई आत्मा नै हो। तर उनले यो कुरा बाहिर व्यक्त गरेनन्। किनभने त्यो बेलाको समाजमा उनले आत्मा, वेद आदिलाई स्वीकार गरिदिएको भए, जुन त्यो बेला रुडीवादी पण्डितहरुको शोषण थियो (बलि, दक्षिणा, जातपात आदि ) बाट हिन्दू समाज कहिल्यै मुक्त हुन सक्ने थिएन ! बुद्ध करुणाको अवतार भएको हुनाले जनतालाई धार्मिक शोषणबाट मुक्त गराउनको लागि सब पूराना शास्त्रहरुलाई नकार्न पनि पछि परेनन्।"

गौतम बुद्धलाई हिन्दूहरुको नवौँ अवतार पनि मानिन्छ। भनिन्छ, उनी हिन्दू धर्मको विकृति सुधार गर्न आएका थिए। त्यसैले, उनले नयाँ सम्प्रदाय बनाए र हिन्दूहरुलाई सुध्रिन कर लाग्यो।

बुद्धले आफुले प्रवर्तन गरेको धर्म सधैँ रहिरहने सनातन होइन भनेर पनि स्वीकार गरेका छन्। किनभने उनलाई थाहा थियो कि सनातन वैदिक धर्म नै सधैँ रहिरहन्छ भनेर। पछि आदि शंकराचार्य आएर त्यो कामलाई फत्ते गर्नुभयो अर्थात् सारा भारतखण्डबाट बुद्धधर्मलाई तर्कबाट जितेर सनातन हिन्दू धर्म पुन: भित्र्याउनु भयो सुधारिएको रूपमा।

आखिर यो सब अरु केही नभएर परमात्माको खेल थियो सनातन धर्मको बाह्य विकृतिलाई सुधार्ने बुद्ध र शंकराचार्यको अवतार लिएर। भनिन्छ शंकराचार्य गौतम बुद्धकै पुनर्जन्म हुन्। बुद्ध करुणाका अवतार थिए भने शंकराचार्य प्रखर बुद्धि "धी" का अवतार ! यसकारण, स्वामी विवेकानन्द भन्नुहुन्छ, ''बुद्धको जस्तो मुटु र शंकराचार्यको जस्तो बुद्धि भएको व्यक्ति नै परमात्माको सच्चा प्रतिमूर्ति हुनसक्छ। हरेक व्यक्तिको आदर्श पनि यी दुईको गुण आफुमा अवतरण गराउने हुनुपर्छ।''

तर यो कुरा नबुझेर बुद्धको देहत्याग पछिका बौद्ध दार्शनिकहरुले आफ्नो मत आस्तिक सिद्धान्तका विरुद्ध प्रतिपादन गर्ने गर्थे। यही आक्रमणबाट हिन्दू आस्तिकता (आत्मवाद ) लाई जोगाउनको लागि गौतम ऋषिले 'न्याय दर्शन' को रचना गर्नुभएको हो जसमा भगवान र आत्मालाई तर्क दिएर प्रमाणित गरिएको छ।

'न्याय दर्शन' को रचनाकाल (ईशा पूर्व ६ देखि ५ वौं शताब्दी) लाई हेर्दा पनि यो कुरा सिद्ध हुन्छ किनभने गौतम बुद्धको देहत्याग पछि यो दर्शन सृजना भएको देखिन्छ।

छोडौँ यी सब तर्क वितर्कका कुरा! आज नेपालमा पनि हिन्दू र बौद्ध दाजुभाईहरु मिलेर एक ढिक्का भएर अगाडी बढ्नुपर्ने स्थिति सृजना भएको छ। यदि हिन्दू र बौद्ध धर्मावलम्बी बीच एकता भएन भने नेपालबाट दुबैको अस्तित्व मेटिने सम्भावना हुन्छ! सर्वविधित नै छ नेपालमा मिसनरीहरुको व्यापक चलखेल जसले धर्मको नाममा राजनीति गरिराखेको छ। "बाइबल पछि बन्दूक आउँछ" भन्ने उखान नै छ अफ्रीकामा !

त्यसैले नेपाली सावधान!

अहिले हामीलाई बुद्ध जस्तो मुटु र शंकराचार्यजस्तो दिमाग भएको देशप्रेमी नेपालीहरुको खाँचो छ। सिधा भन्दा हिन्दू र बौद्धहरु बीच एकताको खाँचो छ। जय नेपाल आमा ! ओम् !


 

 

 

 

Sunday, January 23, 2022

विधर्मीबाट नेपाललाई बचाऔँ


हिन्दू शास्त्रमा छुवाछुत छैन। जातभातमा आधारित छुवाछुत पछि आएको कुरीति हो। उक्त कुरीति कसरी छिर्‍यो ? यसको अनुसन्धान गर्दा देखिन्छ– मनु–स्मृति, पुराण आदि ग्रन्थमा विभिन्न साङ्केतिक कुराहरु लेखिएको छ। जस्तै, ब्राह्मण ब्रह्माको मुख (टाउको) बाट जन्मे। क्षेत्री ब्रह्माको छातीबाट जन्मे।  वैश्यहरु ब्रह्माको पेटबाट जन्मे र शूद्रहरु ब्रह्माको पाइतालाबाट जन्मे !

यो कुरालाई कालान्तरमा सीधा अर्थ लगाउन थालियो र ब्राह्मणहको दमनकारी प्रवृत्तिले प्रश्रय पायो। केही दुष्ट ब्राह्मणहरुले आफूहरु शीरबाट जन्मेको हुनाले आफू उच्च र अरु होचो दर्जाको मान्छे भनी शास्त्रको गलत व्याख्या गर्न थाले। यसरी मानिसको गुण र प्रवृत्तिलाई हेरेर कार्यविभाजनको लागि बनाइएको जातप्रथा छुवाछुतको कुरीतिमा परिणत भयो।

मनु–स्मृतिमा भनिएको कुराको सांकेतिक अर्थ यस्तो छ- बुद्धिको प्रयोग धेरै गरेर ज्ञान बाँड्ने हुनाले ब्राह्मण टाउकोबाट जन्मेको भनिएको हो। छाती र हातको प्रयोग गरेर समाजको रक्षा गर्ने भएकोले क्षेत्री छातीबाट जन्मेको भनिएको हो।

लेनदेन मूलत: पेटको लागि भएकाले वैश्यहरु पेटबाट जन्मेको भनिएको हो। अनि जसरी खुट्टाले सारा शरीरको भार उठाउँछ त्यसरी समाजमा सेवाको काममा लागेर सारा समाजको भार उठाउने हुनाले शूद्र पाइतालाबाट जन्मेको भनिएको हो।

अब यो कुरा बुझ्न जरुरी छ– ब्राह्मण भनेको प्रवृत्ति हो। क्षेत्री, वैश्य, शूद्र सबै प्रवृत्ति हुन्, जात होइन ! जो मानिस जहाँ जसरी जसको घरमा जन्मे पनि उसले आफ्नो प्रवृत्तिअनुसार आफ्नो रोजाइको काम छान्न पाउनुपर्छ।

अर्को कुरा, यो सब चार प्रवृत्तिको मानिसको बराबर सम्मान हुनुपर्छ। उदाहरणको लागि, बसको चक्का तल हुन्छ। बसको माथिको भागले चक्कालाई तँ हिलो-मैलो कुचेर दुगुर्छस्। तँ तल्लो कोटीको परिस् तँ मसँग नछोई भनेर हेपे बस चल्ला ?

त्यसरी नै समाजलाई व्यवस्थित रुपमा चलाउनको लागि पनि चारै वर्णको बराबर हात हुन्छ। सबैले बराबर सम्मान पनि पाउनुपर्छ। फोहोरमैला सफा गर्ने दाजुभाइ दिदी–बहिनीलाई पनि सफा भएर मन्दिर पस्न दिनुपर्छ।  उहाँहरुले छोएको पनि खान मिल्छ। त्यसको सुरुवात गर्न म तयार छु।
वैदिक कालमा त्यस्तै दृष्टान्त हामी भेट्छौँ। आउनुहोस्, हेरौँ !

हिन्दूको सर्वमान्य र  प्रमुख ग्रन्थ भागवत गीता हो। यही ग्रन्थमा लेखेको कुरा १००% सहि छ। बाँकी पुराण र स्मृतिहरुको सांकेतिक अर्थ हुन्छ। त्यहाँ भएका कुरालाई सिधा अर्थ लगाउन मिल्दैन। गीतामा भगवान श्रीकृष्णले भनेका छन्–

चातुर्वर्णम् मया सृष्टम् गुणकर्मविभागश:।
(गीता ४/१३)
गीतामा श्रीकृष्ण भगवान भन्नुहुन्छ, 'चार जात मैले सृष्टि गरेको हुँ मानिसको गुण र कर्म गर्ने प्रवृत्तिअनुसार !' यहाँ के कुरा याद राख्नुपर्छ भने जात मानिसको जन्मअनुसार हुँदैन। वैदिक इतिहासलाई हेर्दा पनि देखिन्छ विश्वमित्र क्षेत्रीय कुलमा जन्मे पनि ध्यान-योग गरेर ब्राह्मणजस्तै कर्म गरेकाले ऋषि भनी पुजिनुहुन्छ।

यस्तै वैशम्पायन शुद्र कुलमा जन्मे पनि महाज्ञानी भएकाले उहाँको ओरिपरि बसेर ब्राह्मणहरु पनि उपदेश सुन्थे।

महाभारतमा धृतराष्ट्रलाई गीता ज्ञान सुनाउने सञ्जय पनि शूद्र कुलमा जन्मेका थिए। उनी रथ चलाउँथे। तैपनि सञ्जय राजासँगै बसेर उनलाई गीता सुनाएका थिए र दिव्यदृष्टि पनि पाएका थिए।

यसबाट प्रष्ट हुन्छ–
१. वैदिक कालमा मानिसको जात उसको गुण र कर्म हेरेर हुन्थ्यो !
२. जुन कुलमा जन्मे पनि मानिसले आफ्नो गुण र कर्म अनुसार जे पनि गर्न पाउँथ्यो।
३. ब्राह्मण, शूद्र, क्षत्रीय, वैश्य जुन कुलमा जन्मे पनि मानिस आफ्नो गुणअनुसार पेशा छान्न पाउँथ्यो।
४. ब्राह्मणले क्षेत्रीयजस्तो बल भए उसले बद्मास राजाहरुलाई तह लगाउन पनि सक्थ्यो। उदाहरण- परशुराम।
५. क्षत्रीयले ध्यान-योग गरेर  ऋषिजस्तो गरीमामय पद पाउन सक्थ्यो। उदाहरण- ऋषि विश्वामित्र।
६. शुद्रले महाज्ञानी भएर सबैलाई उपदेश दिन सक्थ्यो। उदाहरण - वैशम्पायन र सञ्जय।

तसर्थ: पुन:  वैदिक कालको उदाहरण अपनाऔ। छुवाछुत निर्मूल पारौँ। हिन्दूधर्मलाई अझै सङ्गठित र बलियो बनाऔँ ! विधर्मीबाट नेपाल देश बचाऔँ !! यसको सुरुवात म गर्न तयार छु। तपाईंहरु नि ? 
जय नेपाल ! ओम !!


 

हिन्दू धर्ममा पशुबलि : कति वैज्ञानिक ?

पशुबलीलाई हिन्दू धर्मको एउटा कुरीतिको रुपमा हेरिँदैआएको छ तर सारा विश्वलाई प्रभाव पार्ने सनातन धर्मको यस परम्परामा कतै वैज्ञानिकता छ कि ? आउनुहोस्, एकछिन खोजौं।

हिन्दू धर्मअन्तर्गतको तन्त्र-परम्परामा पशुबलिको प्रचलन रहिआएको छ। नेपाल, भारतको बंगाल तथा चीनको स्वशासित क्षेत्र तिब्बत आदि ठाउँहरु तान्त्रिक क्षेत्रमा पर्दछन्। यस कारण यी ठाउँहरुमा बलि-प्रथाको अचाक्ली नै छ।

तन्त्रमा महाकाली आदि दिव्य-शक्तिहरुको आराधना गरिन्छ। उक्त कार्यमा बलि दिने चलन चलेको देखिन्छ। अब प्रश्न उठ्न सक्ला कि बलि-परम्परा किन सुरु गरियो? यसको उत्तर यस प्रकार छन्–

तन्त्रसाधनालाई विशेषगरी ३ भागमा बाँड्न सकिन्छ–

१)     पश्याचारी साधना

२)      विराचारी साधना

३)      दिव्याचारी साधना

 

तन्त्रमा पाँचवटा “म” ले युक्त मानिसलाई पशु भनिन्छ। ती हुन्: मांश (मासु खानमा आशक्त ), मत्स्य माछा (खानमा आशक्त ), मद (जाडरक्सी तथा अरु नशामा आशक्त ), मुद्रा (रुपैयाँ-पैसामा आशक्त ) र मैथुन (यौन) क्रियाकलापमा आशक्त)। 

यस्ता पशुतुल्य मान्छेलाई पशुताबाट छुटाएर सहि मान्छे बनाउने साधनालाई पश्याचारी साधना भनिन्छ। विराचारी साधनाले मानवलाई दिव्यता दिन्छ भने दिव्याचारी साधनाले दिव्य मानवलाई ईश्वर (परम् सत्य) को नजिक पुराएर पूर्ण-जीवन दिन्छ।

यहाँ पशुबलीको प्रसंग पश्याचारी साधनासँग जोडिएको छ। सधैँ खानामा मासु नभई नहुने पशुतुल्य मानिसलाई असली मानव बनाउने पश्याचारी साधनाको एउटा अंग हो। यसअन्तर्गत साधना गर्ने व्यक्तिलाई दिनहुँ मासु खान रोक लगाइन्छ। 

उसले मांश-भक्षण गर्नको लागि निश्चित समयजस्तै महिनामा एक-पटक फलानो देवीको यतिपटक जप र पूजा गरेर देवीलाई पशु चढाएर मात्र खान पाइने विधान बनाइन्छ। यस साधनाको अभिप्राय यो थियो कि जो व्यक्ति दिनहुँजसो मासु खान्छ, उसलाई बिस्तारै-बिस्तारै यो बानी छुटाउने। 

बलि दिनु अघि देवीको ध्यान-मन्त्रजप गर्नैपर्ने नियम हुन्थ्यो। यसो गर्दा-गर्दै पछि गएर साधकमा सत्वगुण विकास भएर ध्यान-जपमै आनन्द आउन थाल्थ्यो र उसलाई पशुको बलि दिने सोंच नै आउँदैनथ्यो। 

यसरी, तत्कालिन समयको बलिप्रथा एउटा मनोवैज्ञानिक थेरापी थियो मानिसको मासु खाने प्रवृत्तिलाई निरुत्साहित र निर्मूल गर्ने । अर्थात्, यसरी दिनहुँको काटमार रोकिन्थ्यो र बलिप्रथाको आडमा  दीर्घकालमा  समाजका सम्पूर्ण मानिसहरुको मासु खाने प्रवृत्तिलाई निर्मूल पारी सहि मानव र सत्वगुणी समाजको निर्माण गरिन्थ्यो। यो थियो– हिन्दू धर्मको सही र मनोवैज्ञानिक बलि-परम्परा।

तर, आजको विडम्बना दर्दनाक छ। आजकल उपर्युक्त तान्त्रिक जप-साधनाको उपेक्षा गरी केवल मासु खानको लागि बलि दिने गरीन्छ र दिनहुँ बधशालामा हजारौँ-लाखौँ पशुहरु पनि काटिएकै हुन्छन्। 

यसरी, हिन्दू धर्मको बली-परम्पराको सहि अर्थ नबुझी, यसको अपव्याख्या गरेर जिब्रोको स्वाद मेट्नेहरुको संख्या समाजमा बढ्दो छ। यसबाट प्रष्ट हुन्छ कि बलि-प्रथा पूर्णतया वैज्ञानिक  थियो तर यसको गलत व्याख्याले निरीह पशुहरुको कटानी बढ्दो छ। यस विषयमा जागरुक व्यक्तिहरु प्रखर रुपमा लागेर बली-परम्पराको वास्तविक अर्थलाई समाजमा पुनः प्रतिष्ठित गर्नु आजको आवश्यकता हो जस्तो लाग्छ। हरि ओम् तत्सत् !

(आचार्य योग-जिज्ञासु र हिन्दू धर्मको वैज्ञानिकताबारे खोज गर्ने व्यक्ति हुन्। उनी बुढानीलकण्ठ आश्रमका संस्थापक गुरु स्वामी चन्द्रेशका चेला हुन्।)


 

असफल मान्छे मैले कहिँ भेटेन!

 

 

यो ब्रह्माण्डमा या संसारमा असफल मान्छे कोही पनि हुँदैन, आजसम्म भएको पनि छैन, हुने पनि सम्भावना छैन।

प्रत्येक प्राणीले अन्तमा "मुक्ति" आफ्नो परम् लक्ष्यलाई पाएर सफलता पाएकै हुन्छ। जिन्दगीको परीक्षामा कोही असफल हुँदैन। एउटा जीवन हेरेर एक आत्माको असफलता निर्क्योल गर्न पनि मिल्दैन।

एउटा जीवन एक आत्माको अनन्त जीवन (शरीर धारण) मध्येको एक कडी मात्र हो। कोही जीवनमा असफल जस्तो देखिएला तर अर्को जीवनमा फेरी अर्को जीवनमा उसले पूर्णता पाउनु नै छ।

जसरी कुनै नदी समुद्रमा नपुगी सुखै छैन, त्यसरी मानव आत्मा पनि परमात्मामा विलिन नभई सुखै छैन।कसैले तर्क देला कि कोही नदी बिचमै सुक्छ समुद्र नभेटी ! तर उसले यो कुरा देख्दैन कि त्यो सुकेको नदीको पानी पृथ्वीको समग्र जल तत्वमा जसरी पनि मिसिन्छ नै, या जमिन मुनि गएर या बाफ बनेर वर्षेर अरु नदीमा मिसिएर समुद्रमा जान्छ। अरु उपाय छैन। अन्तमा सफलता नपाई सुखै छैन। यो प्रकृति को नियम हो।

"भोगापवर्गार्थम् दृश्यम् " (योगसुत्र २/१८ )

अर्थात् दृश्यम वा प्रकृतिको काम भनेको भोग हुँदै प्राणीहरुलाई अपवर्ग (मुक्ति) सम्म लैजानु हो। वा प्रकृतिको उद्देश्य प्राणीहरुलाई भुक्ति तथा मुक्ति प्रदान गर्नु हो।

सम्पूर्ण प्राणी हरुलाई मुक्ति नदिई प्रकृतिले पनि मुक्ति पाउँदैनिन्। भौतिक जीवनलाई मात्र हेर्दा पनि यहाँ हार या असफलता जस्तो कुनै चिज भेटिदैन।

जीवनका क्रियाकलापमा या त जीत छ या त सिख छ, हार छदै छैन। जीवनको सुरुवातमा पनि हामीले युद्ध जितेरै आएको हो र अन्तमा पनि जित्छौँ  नै। मात्र बीचमा सानो तिनो लडाई हारे जस्तो देखिन्छ तर वास्तविक रुपमा हेर्दा  यो पनि जीतको एउटा खुड्किलो मात्र हो, एउटा शिक्षा हो।

हामीहरु  बिनासित्ति हार जीतको / सफलता असफलताको विषयलाई लिएर तनावमा बाँचिरहेका हुन्छौँ। त्यहि चिन्ता नै पहिला आधि र पछि ब्याधि बनेर हाम्रो जीवनको लयलाई बिगार्न उद्धत हुन्छ र अकालमै एक जीवनलाई टिप्न पनि बेर लाउँदैन। यसकारण, हारजीतको तनाव र तनावको कारण लाई गोली मारौं। यो संसारमा तनाव लिने कुनै कारण नै छैन। मस्त भएर भगवत् भक्ति गर्दै कर्म गर्नु नै एक मात्र कर्तब्य हो।

"योगस्थ कुरू कर्माणी " भागवत् गीतामा भनिए जस्तै सर्वप्रथम योगमा आफुलाई स्थापित गरौँ अनि कर्म गरौँ। बिना योगको  कर्म मात्रले हामीलाई रणभुल्लमा पार्छ। नपत्याए कोशिस गरेर हेर्नु ! ओम् !