ईश्वर, जीवन-जगतको शाश्वतता आदि बारे प्रश्न सोधिदा उनी किन मौन रहन्थे? उनको यो मौनता पछाडी एउटा निश्चित विचार-धारा लुकेको हुनुपर्छ । आउनुहोस् यस बारे चर्चा गरौँ है त !
१. मानवको बुद्धिले जीवन जगत्, ईश्वर, परमात्मा आदि बारे पूर्णतया जान्न असम्भव छ किनभने जसरी खोलाले नदी नाप्न सक्दैन, नदीले समुन्द्र नाप्न सक्दैन, त्यसरी नै मानव बुद्धिले भगवान नाप्न सक्दैन । कुनै चिज नाप्नको लागि त्यो चिज भन्दा ठूलो या बराबर संयन्त्र चाहिन्छ । मानव बुद्धि भगवान बराबर पक्कै होइन । शाङ्ख्य दर्शनले पनि भन्छ “ईश्वरासिद्दे” अर्थात् ईश्वरलाई प्रमाणित गर्न सकिंदैन किनभने प्रमाण मनको काम हो र ईश्वर मन भन्दा माथि निकै विशाल र सुक्ष्म हुनुहुन्छ । ईश्वरलाई आफै भित्र अनुभव मात्र गर्न सकिन्छ, अरुलाई प्रमाण दिन सकिन्न ।
२. दु:खी संसारमा जहाँ लगभग १००% मानिस दु:खी छन्, उनीहरुले सुरुमा आफ्नो दु:ख निवृत्तिको लागि दु:खको कारण खोजी त्यसको निवारणमा लाग्नुपर्छ, न कि सुरुवातमै ईश्वरलाई जान्ने-बुझ्ने चेष्टा गर्नु या ईश्वर छ छैन भनी तर्क-वितर्क गर्नु । बुद्धले एउटा उपमा दिनुहुन्थ्यो कि कोही व्यक्तिलाई तीर लागेको छ भने पहिला त्यो तीरलाई सावधानीले निकाली घाउ निको पार्नु व्यावहारिक हुन्छ । तर तीर ननिकाली यो तीर कसले हान्यो, यसको लम्बाई कति छ, यो तीर जड होकी चेतन आदि सोचेर समय बर्बाद गर्नु लापर्वाही मात्र नभई ज्यानमारा संयोग पनि हुनसक्छ । त्यसकारण, सर्वप्रथम दु:ख निराकरण गर, सुख-दु:खभन्दा माथिको आनन्दमा स्थित होऊ । त्यसपछि, ज्ञानचक्षु खुले पछि यी दार्शनिक प्रश्नहरुको जवाफ आफूभित्रै पाउनेछौ । त्यसकारण, भगवान बुद्धले मात्र दु:ख निवारणका उपाए सिकाउनु भयो, दर्शन बनाउन लाग्नु भएन ।
बुद्ध र शंकराचार्य यही कुरामा भिन्न भिन्न देखिनुहुन्छ । तर दुबैको मार्ग ईश्वरप्राप्ति या मोक्षको नै हो । आदि शंकराचार्यको विचारधारालाई अंगिकार गर्ने हो भने दर्शन र दु:ख निवारणको साधना साथ साथ अगाडि बढ्न सक्छ । सुरुवातमा दर्शनले साधकलाई प्रेरणा दिन्छ अगाडि बढ्नलाई र अन्तिममा उसले आफैभित्र दर्शन पाउँछ। “वादे वादे जायते तत्त्वबोध:” भनिएको छ । अर्थात्, दार्शनिक कुरामा चर्चा गर्दा गर्दै पनि तत्त्वबोध हुन सक्छ । यसकारण यी दुई महान ऋषि बुद्ध र शंकराचार्यको विचारलाई समन्वय गरेर साधनामा अगाडि बढ्नु नै साधकलाई उचित हुन्छ जस्तो लाग्छ । ओम् !