प्रत्येक प्राणीले अन्तमा "मुक्ति" आफ्नो परम् लक्ष्यलाई पाएर सफलता पाएकै हुन्छ। जिन्दगीको परीक्षामा कोही असफल हुँदैन। एउटा जीवन हेरेर एक आत्माको असफलता निर्क्योल गर्न पनि मिल्दैन।
एउटा जीवन एक आत्माको अनन्त जीवन (शरीर धारण) मध्येको एक कडी मात्र हो। कोही जीवनमा असफल जस्तो देखिएला तर अर्को जीवनमा फेरी अर्को जीवनमा उसले पूर्णता पाउनु नै छ।
जसरी कुनै नदी समुद्रमा नपुगी सुखै छैन, त्यसरी मानव आत्मा पनि परमात्मामा विलिन नभई सुखै छैन।कसैले तर्क देला कि कोही नदी बिचमै सुक्छ समुद्र नभेटी ! तर उसले यो कुरा देख्दैन कि त्यो सुकेको नदीको पानी पृथ्वीको समग्र जल तत्वमा जसरी पनि मिसिन्छ नै, या जमिन मुनि गएर या बाफ बनेर वर्षेर अरु नदीमा मिसिएर समुद्रमा जान्छ। अरु उपाय छैन। अन्तमा सफलता नपाई सुखै छैन। यो प्रकृति को नियम हो।
"भोगापवर्गार्थम् दृश्यम् " (योगसुत्र २/१८ )
अर्थात् दृश्यम वा प्रकृतिको काम भनेको भोग हुँदै प्राणीहरुलाई अपवर्ग (मुक्ति) सम्म लैजानु हो। वा प्रकृतिको उद्देश्य प्राणीहरुलाई भुक्ति तथा मुक्ति प्रदान गर्नु हो।
सम्पूर्ण प्राणी हरुलाई मुक्ति नदिई प्रकृतिले पनि मुक्ति पाउँदैनिन्। भौतिक जीवनलाई मात्र हेर्दा पनि यहाँ हार या असफलता जस्तो कुनै चिज भेटिदैन।
जीवनका क्रियाकलापमा या त जीत छ या त सिख छ, हार छदै छैन। जीवनको सुरुवातमा पनि हामीले युद्ध जितेरै आएको हो र अन्तमा पनि जित्छौँ नै। मात्र बीचमा सानो तिनो लडाई हारे जस्तो देखिन्छ तर वास्तविक रुपमा हेर्दा यो पनि जीतको एउटा खुड्किलो मात्र हो, एउटा शिक्षा हो।
हामीहरु बिनासित्ति हार जीतको / सफलता असफलताको विषयलाई लिएर तनावमा बाँचिरहेका हुन्छौँ। त्यहि चिन्ता नै पहिला आधि र पछि ब्याधि बनेर हाम्रो जीवनको लयलाई बिगार्न उद्धत हुन्छ र अकालमै एक जीवनलाई टिप्न पनि बेर लाउँदैन। यसकारण, हारजीतको तनाव र तनावको कारण लाई गोली मारौं। यो संसारमा तनाव लिने कुनै कारण नै छैन। मस्त भएर भगवत् भक्ति गर्दै कर्म गर्नु नै एक मात्र कर्तब्य हो।