Saturday, February 12, 2022

एक योद्धाको कथा !

 

prithvi narayan shah unknown stories in nepali


विक्रम संवत् १८०३ तिरको कुरा हो | एक जना योद्धा लडाईमा हारेर थकित पिडित भई आफ्ना बचेका एक दर्जन सिपाही लिएर जंगलको बाटो हिंड्दै थिए | आफ्ना युद्धमा लागेका घाउ लुकाउन उनले फराकिलो गम्छाको प्रयोग गरेका थिए | उनका जिउँदा सिपाहीहरु पनि मनमा निराश र शरीरमा घायल थिए | अनकन्टार जंगलको गोरेटोमा पाइला चाल्दा र त्यसमाथि त्यो साउने झरीमा निथ्रुक भिज्दा उनीहरुको मनोबल निकै नै गिरेको थियो | मनमा हार र साथीभाई गुमाउनुले उनीहरुको घाउमा नून छर्किएझैँ भएको थियो | उनीहरु सब चुपचाप घायल बाघझैँ आफ्नो बाटो हिंडिरहेका थिए | दिनभरको लामो यात्रा कतै गएर बिसाउनु थियो |  रात पर्नै लागेको थियो | अगाडी केहि उज्याला बत्तीहरु देखिए | लामो जंगलको बाटो एउटा गाउँमा गएर टुंगियो |

सेनापतिले ती आफ्ना जवानलाई ४ भागमा बाँडीदिए र तीन-तीन जनाको समूह लिएर बास माग्न गए | ती योद्धा र अरु दुई जवान एउटा घरमा पसे | घर सुनसान थियो | योद्धाले ईशारा गरे अनि एक जना जवान चिच्याए, “ घरमा को हुनुहुन्छ ? बास पाइन्छ कि ?” एकछिनपछि, एकजना बुढी आमा लौरो टेक्दै बाहिर निस्किनुभयो र भन्नुभयो, “ को हौ नानीहरु! कहाँबाट आएका हौ ?” एक सिपाहीले थपे, “ हामीहरु रासन किन्न सहर गएका थियौं | आधी बाटोमै रात पर्यो | आमै बास दिनुहुन्छ कि ?”

बुढी आमाले भन्नुभयो, “ यतिका राती पालेका छौ | बास पाउँछौ | आओ भित्र |”

तीनै जनाले हातखुट्टा धोईवरी घरभित्र छिरे | योद्धा मौन थिए : मानौं कुनै आगामी युद्धको बारेमा योजना बुन्दै थिए | उनको अनुहारमा युद्धको हारको पिडा र भविष्यको लडाईमा जित्ने आशाको मिश्रित भाव थियो | हिजोको हारले उनलाई ज्यादै अन्तर्मुखी बनाई दिएको थियो | उनी कहिले आफ्नो टाउको हल्लाउँथे, कहिले दाह्रा किट्थे र कहिले मनमनमा हाँस्थे | उनको यो विक्षिप्तता देखेर उनका सहकर्मीहरु झन् अताल्लिएका थिए |

उनीहरु दलानमा चुपचाप बसिरहेका थिए | बुढी आमा अगेनीमा खाना पकाउँदै हुनुहुन्थ्यो | यत्तिकैमा, एकजना सिपाहीले मुख खोले, “ महाराज ! हजुर चिन्ता नगर्नुहोस् | अब हामी फेरी एकत्रित भएर हमला गर्नेछौँ र बदला लिनेछौँ |” योद्धाले हातले शान्त रहन ईशारा गरे तर केहि बोलेनन् | फेरी त्यहाँ निशब्दता छायो |

एकछिनपछि, बुढीआमाले खाने बेला भयो भनेर डाक्नुभयो | तीनजनालाई तात्तातो खाना राखिदिएर बुढीआमा छेवैमा बस्नुभयो | योद्धाले मनमनमा मन्त्र पाठ गरेर खान सुरु गरे | उनले थालीको बीचमा हात राख्दै थिए खानाले च्वास्स पोल्यो र हात झट्कारे | त्यो देखेर बुढीआमा हाँस्नुभयो र भन्नुभयो, “ तिमी त कस्तो पृथ्वीनारायण शाहजस्तो रहेछौ | छेउ-छेउको राज्य नहडपी सिधै केन्द्रमा आक्रमण गर्ने ! अनि पोलिहाल्छ नि | किनाराबाट खान सुरु गर नानी !”

सिपाहीहरु अवाक् भएर एकअर्कालाई हेरे अनि एकछिनपछि लामो सास फेरेर फेरी खान थाले | योद्धाले एकटक लाएर एकछिन केहि सोंचे अनि अनुहार उज्यालो बनाउँदै छेउबाट खान सुरु गरे |

ती योद्धा वास्तवमा राष्ट्र-निर्माता पृथ्वीनारायण शाह नै थिए जो त्यो दिन नुवाकोटसँग युद्ध हारेर गोरखा फर्कंदै थिए | त्यस दिनपछि, उनले ती बुढीआमाको उपदेश अङ्गीकार गरेर स-साना राज्यहरुलाई आक्रमण गर्दै शक्ति संचय गरी ठूला राज्यहरुलाई घेराबन्दी गर्न थाले | नाकाबन्दी र घेराउ गरी अन्त्यमा उनले सम्पूर्ण नेपालका ठूला-साना टुक्रे राज्यहरुलाई एकिकरण गरी विशाल नेपाल बनाएरै छाडे |

जय नेपालआमा !


नैतिक पाठ: समय र परिस्थिति जस्तो विकराल भएपनि आफूलाई सधैँ नयाँ कुरा सिक्नको लागि खुला राख्नुपर्छ | त्यसरी, हामी जस्तो भयङ्कर परिस्थितिलाई पनि परिवर्तन गरी भविष्य आफ्नो अनुकूल बनाउन सक्छौँ र जीवनमा विजयी हुनसक्छौँ | सदैव खुला रहनु र सिक्नु !

Saturday, January 29, 2022

मूर्ख पण्डित

the foolish pandit
धेरै पहिले सोमेश्वर नामका पण्डित थिए । उनी देवी दुर्गाका भक्त थिए। एक दिन उनका गुरुले उनलाई माता दुर्गाको ध्यान गर्न र प्रार्थना गर्न भने।

सोमेश्वर जङ्गलमा गए । उनले ध्यान र प्रार्थनामा वर्षौं बिताए। मौसम बदलियो, अवस्था बिग्रियो तर सोमेश्वर डगमगाएनन् ।

एकदिन अकस्मात देवी दुर्गा उनको अगाडि देखा पर्नुभयो। सोमेश्वर अचम्ममा परे ।

देवीले  मुस्कुराउदै भन्नुभयो “म तिम्रो भक्ति देखेर खुशी छु । तिमीले चाहेको कुरा माग्न सक्छौ।"

पण्डितले भने  “आमा ! यदि तिमी मलाई केही दिन चाहनुहुन्छ भने मलाई सञ्जीवनी बुटी दिनु ।”

देवीले सोमेश्वरलाई बुटी दिनुभयो र भन्नुभयो कि संजीवनी बुटीको रसको केही थोपाले कुनै पनि मृत प्राणीलाई जीवित पार्न सक्छ । यति भनेर देवी अन्तर्ध्यान हुनुभयो ।

सोमेश्वरले कल्पना गर्न थाले । उनले गाउँलेलाई सहयोग गर्ने र अनुयायीहरू प्राप्त गर्ने योजना बनाए। जनताले आफूलाई मुखिया समेत बनाउने उनको कल्पना थियो ।

यिनै खुशीका बिचारहरु माझ उनि चिन्तित हुन थाले कि यो साँचो बुटी हो कि होइन । त्यसैबेला, उनले एउटा मरेको सिंह भेटे। उनले तुरुन्तै संजीवनी बुटीका केही पातहरू निचोर्न थाले। जब केहि थोपा शरीरमा खस्यो, सिंह फेरि जीवित भयो। त्यो सिंह बुढो भइसकेको थियो र शिकार गर्न पर्याप्त शक्ति नभएकाले भोकले मरेको थियो। बुटीले उसलाई जीवनमा मात्र ल्याएन बरु  बल र ऊर्जा पनि दियो।

सोमेश्वर खुसी भए तर अचानक सिंहको गर्जना सुनेर आफ्नो गल्ती महसुस गरे । उनी ज्यान जोगाउन दौडन थाले तर सिंहसँग उनको कुनै जोर चलेन। सिंहले उनलाई समात्यो र आफ्नो शिकारको आनन्द उठायो।

नैतिक पाठ: आफ्नो कार्यको नतिजा बारे सोच्नुहोस् अनि बल्ल कार्य गर्नुहोस् । नभए पछुताउनुहोस् ।

Thursday, January 27, 2022

के भगवान 'शिव' साँच्चै गाँजा लिनुहुन्थ्यो ?

शिव भगवानको गाँजा तान्ने भक्तहरुले शिवजीलाई तुष्ट पार्न गाँजा लिनुपर्छ भन्नुहुन्छ! के शिव भगवान साँच्चै गाँजा लिनुहुन्थ्यो? यस विषयमा अनुसन्धान गरौँ है त? के भेटिने रहेछ?

शिव भगवान आजभन्दा लगभग १५ हजार वर्ष अगाडि कैलाश मानसरोवरको क्षेत्रमा तपस्या गर्नुहुन्थ्यो भन्ने विश्वास रहिआएको छ। उहाँलाई आदियोगी पनि भनिन्छ किनभने योगको प्रथम् सुरुवातकर्ता नै शिवजी हुनुहुन्छ। उहाँले योगको सर्वप्रथम दीक्षा सप्तऋषिलाई दिएर विश्वका सात महादेशमा पठाउनुभयो भन्ने किम्वदन्ति पनि छ।

यसरी योग विश्वभरि फैलिएको हो। अझै पनि सातै महादेशमा प्राचीन शिवलिङ्गहरु भेटिन्छन् जसले कुनै बेला विश्वभरि शिव भगवानको पूजा हुन्थ्यो भन्ने कुरा इंगित गर्छ।

भगवान शिव एउटा रहस्यमय व्यक्तित्त्व हुनुन्थ्यो। उहाँको न जन्मबारे थाहा छ न मृत्युबारे! योगीहरू भन्छन् शिवजी सर्वत्र व्याप्त हुनुन्छ। उहाँ ब्रह्माण्डमा तथा मानिसको शरीरमा पनि वास गर्नुहुन्छ। मानिसको मस्तिष्क र शिवलिङ्गमा अभूतपूर्व समानता रहेको कुरा डा. टोनी नाडरले 'ह्युमन फिजियोलोजी एण्ड वेदास' भन्ने किताबमा प्रष्ट पार्नुभएको छ। ब्रह्माण्डको आकार पनि शिवलिङ्गजस्तो देखिन्छ। मानिसको मस्तिष्कमा गणेश भगवानको पनि आकृति भेटिन्छ!

शिवजी र गाँजाको सम्बन्ध के हो? त्यो बुझ्नको लागि हामीले एउटा खोजतर्फ आँखा लाउनुपर्ने हुन्छ। सन् १९९२ मा राफेल मेकोलम नाम गरेका इजरायली वैज्ञानिकले मानिसको मस्तिष्कभित्र आनन्द दिने रस पत्ता लगाए। उक्त रसको नाम उनले 'आनन्दमाइड' राखे! 'आनन्दमाइड' संस्कृत शब्द 'आनन्द' बाट आएको हो। यसको अर्थ हुन्छ– खुशी, आनन्द। मानिसको मस्तिष्क नै शिवलिङ्ग हो अर्थात् शिव भगवान हो भन्ने कुरा माथि नै उल्लेख भइसक्यो।

वैज्ञानिक खोजबाट के देखिएको छ भने मस्तिष्कको रस 'आनन्दमाइड' र गाँजामा पाइने रस 'टीएचसी' मा समानता छ। त्यही भएर गाँजा तान्नेहरुले एकछिन भए पनि खुशीको महसुस गरेका हुन्छन् र त्यसको लतमा पर्छन् तर कालान्तरमा गाँजाले स्वत:स्फुर्त रुपमा आनन्द दिने 'आनन्दमाइड'मा रस निकाल्ने केन्द्रलाई निष्क्रिय बनाउँछ र गाँजामै 'एडिक्ट' बनाउँछ । लत लाग्नु पक्कै पनि स्वास्थ्यको लागि फाइदाजनक छैन।

त्यस कारण शिवजीले गाँजा खानुहुन्थ्यो भन्ने कुराको साङ्केतिक अर्थ छ। शिव भगवान अर्थात् हाम्रो मस्तिष्कमै गाँजाजस्तै र गाँजाभन्दा धेरै आनन्द दिने रस पाइन्छ जसको नाम वैज्ञानिकले 'आनन्दमाइड' राखे। जबमै आनन्द दिने रस निस्किन्छ भने बाहिरबाट गाँजा किन तान्ने?

'आनन्दमाइड' निकाल्न हामीले ध्यान-योग गर्नुपर्छ। 

शिव भगवानको मन्त्र जप गर्नुपर्छ।
शिव भगवानजस्तै नि:स्वार्थ जीवन जिउनुपर्छ।
शिव भगवानको ध्यान गरेर आफूभित्रै आनन्द निकालौँ। बिना कुनै 'ड्रग्स' मस्त रहौँ।



Monday, January 24, 2022

कुरुप हाँस



गर्मीको समयमा एक दिन खेतमा एउटी आमा हाँस आफ्नो गुँडमा बसिन् र आफ्नो अण्डा कहिले निस्कन्छ भनेर सोचिरहेकी थिइन्। एक दिन अण्डाहरू फुट्न थाले र स-साना बचेराहरु एकपछि अर्को गर्दै खोलबाट बाहिर निस्कन थाले। स-साना हाँसका बच्चाहरूले आफ्ना पखेटाहरू फड्काए र “क्वाक, क्वाक!” भनेर कराउन थाले। खरानी प्वाँख भएको अनौठो देखिने अन्तिममा उभिएको हाँसबाहेक अरु  सबै हाँसका बच्चाहरू देखेर आमा हाँस खुसी भइन्।

पोखरीमा पहिलो पौडी खेल्नका लागि आमा हाँसले आफ्ना सबै हाँसका बच्चाहरूलाई बोलाईन। उनले आफ्ना सबै छोराछोरीहरूलाई नजिकैको पोखरीमा लगिन् र प्रत्येक हाँसको बच्चालाई कसरी राम्रो हाँस बन्ने भनेर सिकाउन थालिन्। खरानी प्वाँख भएको एउटा बाहेक सबै हाँसका बच्चाहरू खुशीले उफ्रिए। अरू हाँसहरू उसलाई हेरेर हाँस्न थाले। त्यो भिन्न हाँसको टाउको लाजले झुक्यो।

समय बित्दै जाँदा, आमा हाँस र उनका हाँसका बच्चाहरूले उसलाई बेवास्ता गर्न थाले । अरूले पोखरीमा कराउने, पौडी खेल्ने, डुबुल्की मार्ने र पानी छर्कने अभ्यास गरे। निराश भई आफू अनावश्यक भएको महसुस गर्दै, अन्ततः एक साँझ कुरूप हाँसले जाडोमा आफ्नो घर छोड्ने निर्णय गर्यो र एक्लै दलदलमा बस्न भाग्यो।

आफ्नो बाटोमा कुरूप हाँसको बच्चाले एक किसानलाई ठोकर दियो । किसानले उसलाई दयाले हेर्यो अनि  उसलाई खाना र आश्रय दियो। तर, हाँसको बच्चा किसानका शरारती बच्चाहरूसँग डराएको थियो । त्यसैले ऊ त्यहाँबाट भाग्यो।

अन्ततः, वसन्त आइपुग्दा हाँसको बच्चा खुसी भयो । उसले फेरि तालमा पौडी खेल्न थाल्यो। ऊ नजिकैको तालमा गयो जहाँ उसले सुन्दर हंसहरूको बथान पौडी खेलिरहेको भेट्टायो र तिनीहरूको सौन्दर्यलाई हेर्यो। हाँसको बच्चा अहिले पूर्ण रूपमा बढेको थियो । उसले राजहंसलाई भेट्न निवेदन गर्यो । उसलाई फेरी अस्वीकार हुन्छु जस्तो लागेको थियो। तर, आश्चर्य भयो र  हंसहरूले उनलाई न्यानो स्वागत गरे।

पोखरीमा पस्दै गर्दा उसले पानीमा आफ्नो प्रतिबिम्ब देख्यो र अचम्भित भयो । अब त्यो कुरूप हाँसको बच्चा रहेन भन्ने देखेर ऊ आफैँमा छक्क पर्यो। ऊ सुन्दर हंसमा परिणत भएको थियो। चाँडै ऊ सुन्दर हंसहरूको बगालमा सामेल भयो र आफ्नो भर्खरै भेटिएको हंस परिवारसँग उड्न पाउँदा खुसी भयो। यसरी उक्त जवान हाँसले पुराना कष्ट भुलेर एउटा नयाँ जीवनको उत्साही सुरुवात गर्यो ।

नैतिक पाठ: विगतमा भएका नराम्रा घटनाबाट हामी या त पाठ सिकी बुद्धिमान बन्न सक्छौँ या सधैँ घाइते भई जीवन बर्बाद गर्न सक्छौँ । यो चोइस हामीमा निर्भर हुन्छ ।यस कथाको पात्र सानो हाँसले बुद्धिमान बन्न रोज्यो ।


 

दुई टाउको भएको चरा

पुरानो समयको कुरा हो । पोखरीको छेउमा एउटा अनौठो चरा बस्थ्यो, जसको नाम भारण्ड थियो । भारन्डका दुईवटा टाउको थिए, ऊ आफ्नो क्षेत्रमा निकै चर्चित थियो र उसको विशिष्टताका कारण धेरै जनावर र पंक्षीहरू उसको ईर्ष्या गर्थे।

एक दिन भारण्ड  धेरै भोकाएका थियो र केही खान खोजिरहेका थियो । त्यसपछि एउटा टाउकोले एउटा धेरै सुन्दर फल देख्यो। हतार हतार फलको नजिक गएर खान थाल्यो । यस्तो स्वादिष्ट फल उसले जीवनमा कहिल्यै खाएको थिएन। उसले भन्यो, “वाह ! यो स्वर्गको बगैंचा जस्तै स्वादिष्ट फल हो, र यसलाई खाँदा मलाई स्वर्गीय आनन्द मिल्छ! ”

यो सुनेर अर्को टाउकोले भन्यो, "यस फलको केही अंश मलाई पनि देऊ। म पनि स्वाद लिन चाहन्छु।"

सुरुमा टाउकोलाई यो कुरा मन परेन । उसले भन्यो, “तिमीले बिर्सदैछौ कि हाम्रो एउटै पेट छ । मैले खाएँ भने तिमीलाई पनि सन्तुष्टि मिल्छ।" तर अर्को टाउकोले फेरि फल खाने इच्छा व्यक्त गर्यो, उसले त्यो फल चाख्न चाह्यो। त्यसमा पहिलो टाउकोले रिसाउँदै भन्यो, "म खाना खोज्दै थिएँ, त्यसैले यो फल पाएँ। यो फल खाने अधिकार मलाई मात्र छ। तिम्रो भोक पनि मेटिन्छ, यसैमा खुसी हुनुपर्छ। यदि तिमी फलफूल खान चाहन्छौ भने आफैले प्रयास गर्न सिक। यति भन्दै उसले आफैंले पुरै फल खायो ।


अर्को टाउको धेरै दुख्यो। उसलाई दुःख लाग्न थाल्यो र बिस्तारै मनमा बदलाको भावना जाग्न थाल्यो । एक दिन फेरि सानो कुरामा झगडा भयो, र अर्को टाउकोले बदला लिने निर्णय गर्यो।


त्यो पोखरीको छेउमा एउटा विषालु फलफूल थियो । ऊ रिसाएर उठ्यो र ती फलहरू खान थाल्यो। पहिलो टाउकोले करायो, “के गर्दैछौ ? यी फलहरू विषाक्त हुन्छन्। तिनीहरूलाई नखाऊ।"


अर्को टाउकोले भन्यो, "म जे चाहन्छु त्यो खान्छु। मलाई रोक्ने तिमी को हौ?"


पहिलो टाउकोले उसलाई बुझाउन र रोक्न धेरै प्रयास गर्यो, "तिमी पागल भइसकेका छौ, यो विषालु फल खायौ भने हामी दुबै मर्नेछौ।" तर अर्को टाउको त्यस फलफूललाई ​​ एकपछि अर्को गरी खाँदै थियो । केही बेरमै  भारण्ड नामको त्यो अनौठो दुई टाउको भएको चरा भुइँमा बेजान पल्टियो !


कथाको नैतिक पाठ:- परिवारका सदस्यहरू, विशेष गरी दम्पतीहरू भारण्ड जस्तै एक चरा हुन्। एकअर्काको भावनाको कदर गर्दै, एकअर्काको भावनालाई सम्मान गर्दै मिलेर बस्दा आकाशको उचाइ छुन सकिन्छ । अन्यथा, परिवार नै बोझ हुन्छ र समाप्त हुनसक्छ।


 


गौतम बुद्धका विचार किन दर्शन विरोधी थिए ?

गौतम बुद्धका विचार किन दर्शन विरोधी थिए ?

ईश्वर, जीवन-जगतको शाश्वतता आदि बारे प्रश्न सोधिदा उनी किन मौन रहन्थे? उनको यो मौनता पछाडी एउटा निश्चित विचार-धारा लुकेको हुनुपर्छ । आउनुहोस् यस बारे चर्चा गरौँ है त !

१. मानवको बुद्धिले जीवन जगत्, ईश्वर, परमात्मा आदि बारे पूर्णतया जान्न असम्भव छ किनभने जसरी खोलाले नदी नाप्न सक्दैन, नदीले समुन्द्र नाप्न सक्दैन, त्यसरी नै मानव बुद्धिले भगवान नाप्न सक्दैन । कुनै चिज नाप्नको लागि त्यो चिज भन्दा ठूलो या बराबर संयन्त्र चाहिन्छ । मानव बुद्धि भगवान बराबर पक्कै होइन । शाङ्ख्य दर्शनले पनि भन्छ “ईश्वरासिद्दे” अर्थात् ईश्वरलाई प्रमाणित गर्न सकिंदैन किनभने प्रमाण मनको काम हो र ईश्वर मन भन्दा माथि निकै विशाल र सुक्ष्म हुनुहुन्छ । ईश्वरलाई आफै भित्र अनुभव मात्र गर्न सकिन्छ, अरुलाई प्रमाण दिन सकिन्न ।

२. दु:खी संसारमा जहाँ लगभग १००% मानिस दु:खी छन्, उनीहरुले सुरुमा आफ्नो दु:ख निवृत्तिको लागि दु:खको कारण खोजी त्यसको निवारणमा लाग्नुपर्छ, न कि सुरुवातमै ईश्वरलाई जान्ने-बुझ्ने चेष्टा गर्नु या ईश्वर छ छैन भनी तर्क-वितर्क गर्नु । बुद्धले एउटा उपमा दिनुहुन्थ्यो कि कोही व्यक्तिलाई तीर लागेको छ भने पहिला त्यो तीरलाई सावधानीले निकाली घाउ निको पार्नु व्यावहारिक हुन्छ । तर तीर ननिकाली यो तीर कसले हान्यो, यसको लम्बाई कति छ, यो तीर जड होकी चेतन आदि सोचेर समय बर्बाद गर्नु लापर्वाही मात्र नभई ज्यानमारा संयोग पनि हुनसक्छ । त्यसकारण, सर्वप्रथम दु:ख निराकरण गर, सुख-दु:खभन्दा माथिको आनन्दमा स्थित होऊ । त्यसपछि, ज्ञानचक्षु खुले पछि यी दार्शनिक प्रश्नहरुको जवाफ आफूभित्रै पाउनेछौ । त्यसकारण, भगवान बुद्धले मात्र दु:ख निवारणका उपाए सिकाउनु भयो, दर्शन बनाउन लाग्नु भएन ।

बुद्ध र शंकराचार्य यही कुरामा भिन्न भिन्न देखिनुहुन्छ । तर दुबैको मार्ग ईश्वरप्राप्ति या मोक्षको नै हो । आदि शंकराचार्यको विचारधारालाई अंगिकार गर्ने हो भने दर्शन र दु:ख निवारणको साधना साथ साथ अगाडि बढ्न सक्छ । सुरुवातमा दर्शनले साधकलाई प्रेरणा दिन्छ अगाडि बढ्नलाई र अन्तिममा उसले आफैभित्र दर्शन पाउँछ। “वादे वादे जायते तत्त्वबोध:” भनिएको छ । अर्थात्, दार्शनिक कुरामा चर्चा गर्दा गर्दै पनि तत्त्वबोध हुन सक्छ । यसकारण यी दुई महान ऋषि बुद्ध र शंकराचार्यको विचारलाई समन्वय गरेर साधनामा अगाडि बढ्नु नै साधकलाई उचित हुन्छ जस्तो लाग्छ । ओम् !


 

बौद्ध धर्म र अनात्म !

 

बौद्ध दर्शन नित्य आत्माको सिद्धान्तलाई स्वीकार गर्दैन।

फेरी त्यही दर्शनमा भनिएको छ कि व्यक्तिको कर्म अनुसार उसलाई पुनर्जन्म मिल्छ, निर्वाण नपाउँदा सम्म। यदि नित्य आत्माको अस्तित्व छैन भने पुनर्जन्म चाहिँ कसको हुन्छ त? यो टड्कारो प्रश्न हो।

बौद्ध दर्शनमा यस कुरालाई पन्छ्याउनलाई निकै अचम्मको वर्णन पाइन्छ। जस्तो कि व्यक्तिको मन, वाणी आदिको भिन्न-भिन्न ठाउँमा पुनर्जन्म हुनसक्छ रे ! यस्तै कुरा बौद्ध दर्शनमा आधारित "लिटिल बुद्ध" भन्ने चलचित्रमा पनि देखाइएको थियो।

यसबाट बौद्ध दर्शन स्वयंमै बाझिएको देखियो। तर यो सबै भ्रम र अन्योलको पछाडी एउटा सरल उत्तर यस्तो हुनसक्छ: " सायद गौतम बुद्धले नित्य आत्मालाई भित्रबाट स्वीकार गर्थे र उनले निर्वाणमा अनुभूति गरेको पनि शून्यता नभई आत्मा नै हो। तर उनले यो कुरा बाहिर व्यक्त गरेनन्। किनभने त्यो बेलाको समाजमा उनले आत्मा, वेद आदिलाई स्वीकार गरिदिएको भए, जुन त्यो बेला रुडीवादी पण्डितहरुको शोषण थियो (बलि, दक्षिणा, जातपात आदि ) बाट हिन्दू समाज कहिल्यै मुक्त हुन सक्ने थिएन ! बुद्ध करुणाको अवतार भएको हुनाले जनतालाई धार्मिक शोषणबाट मुक्त गराउनको लागि सब पूराना शास्त्रहरुलाई नकार्न पनि पछि परेनन्।"

गौतम बुद्धलाई हिन्दूहरुको नवौँ अवतार पनि मानिन्छ। भनिन्छ, उनी हिन्दू धर्मको विकृति सुधार गर्न आएका थिए। त्यसैले, उनले नयाँ सम्प्रदाय बनाए र हिन्दूहरुलाई सुध्रिन कर लाग्यो।

बुद्धले आफुले प्रवर्तन गरेको धर्म सधैँ रहिरहने सनातन होइन भनेर पनि स्वीकार गरेका छन्। किनभने उनलाई थाहा थियो कि सनातन वैदिक धर्म नै सधैँ रहिरहन्छ भनेर। पछि आदि शंकराचार्य आएर त्यो कामलाई फत्ते गर्नुभयो अर्थात् सारा भारतखण्डबाट बुद्धधर्मलाई तर्कबाट जितेर सनातन हिन्दू धर्म पुन: भित्र्याउनु भयो सुधारिएको रूपमा।

आखिर यो सब अरु केही नभएर परमात्माको खेल थियो सनातन धर्मको बाह्य विकृतिलाई सुधार्ने बुद्ध र शंकराचार्यको अवतार लिएर। भनिन्छ शंकराचार्य गौतम बुद्धकै पुनर्जन्म हुन्। बुद्ध करुणाका अवतार थिए भने शंकराचार्य प्रखर बुद्धि "धी" का अवतार ! यसकारण, स्वामी विवेकानन्द भन्नुहुन्छ, ''बुद्धको जस्तो मुटु र शंकराचार्यको जस्तो बुद्धि भएको व्यक्ति नै परमात्माको सच्चा प्रतिमूर्ति हुनसक्छ। हरेक व्यक्तिको आदर्श पनि यी दुईको गुण आफुमा अवतरण गराउने हुनुपर्छ।''

तर यो कुरा नबुझेर बुद्धको देहत्याग पछिका बौद्ध दार्शनिकहरुले आफ्नो मत आस्तिक सिद्धान्तका विरुद्ध प्रतिपादन गर्ने गर्थे। यही आक्रमणबाट हिन्दू आस्तिकता (आत्मवाद ) लाई जोगाउनको लागि गौतम ऋषिले 'न्याय दर्शन' को रचना गर्नुभएको हो जसमा भगवान र आत्मालाई तर्क दिएर प्रमाणित गरिएको छ।

'न्याय दर्शन' को रचनाकाल (ईशा पूर्व ६ देखि ५ वौं शताब्दी) लाई हेर्दा पनि यो कुरा सिद्ध हुन्छ किनभने गौतम बुद्धको देहत्याग पछि यो दर्शन सृजना भएको देखिन्छ।

छोडौँ यी सब तर्क वितर्कका कुरा! आज नेपालमा पनि हिन्दू र बौद्ध दाजुभाईहरु मिलेर एक ढिक्का भएर अगाडी बढ्नुपर्ने स्थिति सृजना भएको छ। यदि हिन्दू र बौद्ध धर्मावलम्बी बीच एकता भएन भने नेपालबाट दुबैको अस्तित्व मेटिने सम्भावना हुन्छ! सर्वविधित नै छ नेपालमा मिसनरीहरुको व्यापक चलखेल जसले धर्मको नाममा राजनीति गरिराखेको छ। "बाइबल पछि बन्दूक आउँछ" भन्ने उखान नै छ अफ्रीकामा !

त्यसैले नेपाली सावधान!

अहिले हामीलाई बुद्ध जस्तो मुटु र शंकराचार्यजस्तो दिमाग भएको देशप्रेमी नेपालीहरुको खाँचो छ। सिधा भन्दा हिन्दू र बौद्धहरु बीच एकताको खाँचो छ। जय नेपाल आमा ! ओम् !


 

 

 

 

Sunday, January 23, 2022

विधर्मीबाट नेपाललाई बचाऔँ


हिन्दू शास्त्रमा छुवाछुत छैन। जातभातमा आधारित छुवाछुत पछि आएको कुरीति हो। उक्त कुरीति कसरी छिर्‍यो ? यसको अनुसन्धान गर्दा देखिन्छ– मनु–स्मृति, पुराण आदि ग्रन्थमा विभिन्न साङ्केतिक कुराहरु लेखिएको छ। जस्तै, ब्राह्मण ब्रह्माको मुख (टाउको) बाट जन्मे। क्षेत्री ब्रह्माको छातीबाट जन्मे।  वैश्यहरु ब्रह्माको पेटबाट जन्मे र शूद्रहरु ब्रह्माको पाइतालाबाट जन्मे !

यो कुरालाई कालान्तरमा सीधा अर्थ लगाउन थालियो र ब्राह्मणहको दमनकारी प्रवृत्तिले प्रश्रय पायो। केही दुष्ट ब्राह्मणहरुले आफूहरु शीरबाट जन्मेको हुनाले आफू उच्च र अरु होचो दर्जाको मान्छे भनी शास्त्रको गलत व्याख्या गर्न थाले। यसरी मानिसको गुण र प्रवृत्तिलाई हेरेर कार्यविभाजनको लागि बनाइएको जातप्रथा छुवाछुतको कुरीतिमा परिणत भयो।

मनु–स्मृतिमा भनिएको कुराको सांकेतिक अर्थ यस्तो छ- बुद्धिको प्रयोग धेरै गरेर ज्ञान बाँड्ने हुनाले ब्राह्मण टाउकोबाट जन्मेको भनिएको हो। छाती र हातको प्रयोग गरेर समाजको रक्षा गर्ने भएकोले क्षेत्री छातीबाट जन्मेको भनिएको हो।

लेनदेन मूलत: पेटको लागि भएकाले वैश्यहरु पेटबाट जन्मेको भनिएको हो। अनि जसरी खुट्टाले सारा शरीरको भार उठाउँछ त्यसरी समाजमा सेवाको काममा लागेर सारा समाजको भार उठाउने हुनाले शूद्र पाइतालाबाट जन्मेको भनिएको हो।

अब यो कुरा बुझ्न जरुरी छ– ब्राह्मण भनेको प्रवृत्ति हो। क्षेत्री, वैश्य, शूद्र सबै प्रवृत्ति हुन्, जात होइन ! जो मानिस जहाँ जसरी जसको घरमा जन्मे पनि उसले आफ्नो प्रवृत्तिअनुसार आफ्नो रोजाइको काम छान्न पाउनुपर्छ।

अर्को कुरा, यो सब चार प्रवृत्तिको मानिसको बराबर सम्मान हुनुपर्छ। उदाहरणको लागि, बसको चक्का तल हुन्छ। बसको माथिको भागले चक्कालाई तँ हिलो-मैलो कुचेर दुगुर्छस्। तँ तल्लो कोटीको परिस् तँ मसँग नछोई भनेर हेपे बस चल्ला ?

त्यसरी नै समाजलाई व्यवस्थित रुपमा चलाउनको लागि पनि चारै वर्णको बराबर हात हुन्छ। सबैले बराबर सम्मान पनि पाउनुपर्छ। फोहोरमैला सफा गर्ने दाजुभाइ दिदी–बहिनीलाई पनि सफा भएर मन्दिर पस्न दिनुपर्छ।  उहाँहरुले छोएको पनि खान मिल्छ। त्यसको सुरुवात गर्न म तयार छु।
वैदिक कालमा त्यस्तै दृष्टान्त हामी भेट्छौँ। आउनुहोस्, हेरौँ !

हिन्दूको सर्वमान्य र  प्रमुख ग्रन्थ भागवत गीता हो। यही ग्रन्थमा लेखेको कुरा १००% सहि छ। बाँकी पुराण र स्मृतिहरुको सांकेतिक अर्थ हुन्छ। त्यहाँ भएका कुरालाई सिधा अर्थ लगाउन मिल्दैन। गीतामा भगवान श्रीकृष्णले भनेका छन्–

चातुर्वर्णम् मया सृष्टम् गुणकर्मविभागश:।
(गीता ४/१३)
गीतामा श्रीकृष्ण भगवान भन्नुहुन्छ, 'चार जात मैले सृष्टि गरेको हुँ मानिसको गुण र कर्म गर्ने प्रवृत्तिअनुसार !' यहाँ के कुरा याद राख्नुपर्छ भने जात मानिसको जन्मअनुसार हुँदैन। वैदिक इतिहासलाई हेर्दा पनि देखिन्छ विश्वमित्र क्षेत्रीय कुलमा जन्मे पनि ध्यान-योग गरेर ब्राह्मणजस्तै कर्म गरेकाले ऋषि भनी पुजिनुहुन्छ।

यस्तै वैशम्पायन शुद्र कुलमा जन्मे पनि महाज्ञानी भएकाले उहाँको ओरिपरि बसेर ब्राह्मणहरु पनि उपदेश सुन्थे।

महाभारतमा धृतराष्ट्रलाई गीता ज्ञान सुनाउने सञ्जय पनि शूद्र कुलमा जन्मेका थिए। उनी रथ चलाउँथे। तैपनि सञ्जय राजासँगै बसेर उनलाई गीता सुनाएका थिए र दिव्यदृष्टि पनि पाएका थिए।

यसबाट प्रष्ट हुन्छ–
१. वैदिक कालमा मानिसको जात उसको गुण र कर्म हेरेर हुन्थ्यो !
२. जुन कुलमा जन्मे पनि मानिसले आफ्नो गुण र कर्म अनुसार जे पनि गर्न पाउँथ्यो।
३. ब्राह्मण, शूद्र, क्षत्रीय, वैश्य जुन कुलमा जन्मे पनि मानिस आफ्नो गुणअनुसार पेशा छान्न पाउँथ्यो।
४. ब्राह्मणले क्षेत्रीयजस्तो बल भए उसले बद्मास राजाहरुलाई तह लगाउन पनि सक्थ्यो। उदाहरण- परशुराम।
५. क्षत्रीयले ध्यान-योग गरेर  ऋषिजस्तो गरीमामय पद पाउन सक्थ्यो। उदाहरण- ऋषि विश्वामित्र।
६. शुद्रले महाज्ञानी भएर सबैलाई उपदेश दिन सक्थ्यो। उदाहरण - वैशम्पायन र सञ्जय।

तसर्थ: पुन:  वैदिक कालको उदाहरण अपनाऔ। छुवाछुत निर्मूल पारौँ। हिन्दूधर्मलाई अझै सङ्गठित र बलियो बनाऔँ ! विधर्मीबाट नेपाल देश बचाऔँ !! यसको सुरुवात म गर्न तयार छु। तपाईंहरु नि ? 
जय नेपाल ! ओम !!


 

हिन्दू धर्ममा पशुबलि : कति वैज्ञानिक ?

पशुबलीलाई हिन्दू धर्मको एउटा कुरीतिको रुपमा हेरिँदैआएको छ तर सारा विश्वलाई प्रभाव पार्ने सनातन धर्मको यस परम्परामा कतै वैज्ञानिकता छ कि ? आउनुहोस्, एकछिन खोजौं।

हिन्दू धर्मअन्तर्गतको तन्त्र-परम्परामा पशुबलिको प्रचलन रहिआएको छ। नेपाल, भारतको बंगाल तथा चीनको स्वशासित क्षेत्र तिब्बत आदि ठाउँहरु तान्त्रिक क्षेत्रमा पर्दछन्। यस कारण यी ठाउँहरुमा बलि-प्रथाको अचाक्ली नै छ।

तन्त्रमा महाकाली आदि दिव्य-शक्तिहरुको आराधना गरिन्छ। उक्त कार्यमा बलि दिने चलन चलेको देखिन्छ। अब प्रश्न उठ्न सक्ला कि बलि-परम्परा किन सुरु गरियो? यसको उत्तर यस प्रकार छन्–

तन्त्रसाधनालाई विशेषगरी ३ भागमा बाँड्न सकिन्छ–

१)     पश्याचारी साधना

२)      विराचारी साधना

३)      दिव्याचारी साधना

 

तन्त्रमा पाँचवटा “म” ले युक्त मानिसलाई पशु भनिन्छ। ती हुन्: मांश (मासु खानमा आशक्त ), मत्स्य माछा (खानमा आशक्त ), मद (जाडरक्सी तथा अरु नशामा आशक्त ), मुद्रा (रुपैयाँ-पैसामा आशक्त ) र मैथुन (यौन) क्रियाकलापमा आशक्त)। 

यस्ता पशुतुल्य मान्छेलाई पशुताबाट छुटाएर सहि मान्छे बनाउने साधनालाई पश्याचारी साधना भनिन्छ। विराचारी साधनाले मानवलाई दिव्यता दिन्छ भने दिव्याचारी साधनाले दिव्य मानवलाई ईश्वर (परम् सत्य) को नजिक पुराएर पूर्ण-जीवन दिन्छ।

यहाँ पशुबलीको प्रसंग पश्याचारी साधनासँग जोडिएको छ। सधैँ खानामा मासु नभई नहुने पशुतुल्य मानिसलाई असली मानव बनाउने पश्याचारी साधनाको एउटा अंग हो। यसअन्तर्गत साधना गर्ने व्यक्तिलाई दिनहुँ मासु खान रोक लगाइन्छ। 

उसले मांश-भक्षण गर्नको लागि निश्चित समयजस्तै महिनामा एक-पटक फलानो देवीको यतिपटक जप र पूजा गरेर देवीलाई पशु चढाएर मात्र खान पाइने विधान बनाइन्छ। यस साधनाको अभिप्राय यो थियो कि जो व्यक्ति दिनहुँजसो मासु खान्छ, उसलाई बिस्तारै-बिस्तारै यो बानी छुटाउने। 

बलि दिनु अघि देवीको ध्यान-मन्त्रजप गर्नैपर्ने नियम हुन्थ्यो। यसो गर्दा-गर्दै पछि गएर साधकमा सत्वगुण विकास भएर ध्यान-जपमै आनन्द आउन थाल्थ्यो र उसलाई पशुको बलि दिने सोंच नै आउँदैनथ्यो। 

यसरी, तत्कालिन समयको बलिप्रथा एउटा मनोवैज्ञानिक थेरापी थियो मानिसको मासु खाने प्रवृत्तिलाई निरुत्साहित र निर्मूल गर्ने । अर्थात्, यसरी दिनहुँको काटमार रोकिन्थ्यो र बलिप्रथाको आडमा  दीर्घकालमा  समाजका सम्पूर्ण मानिसहरुको मासु खाने प्रवृत्तिलाई निर्मूल पारी सहि मानव र सत्वगुणी समाजको निर्माण गरिन्थ्यो। यो थियो– हिन्दू धर्मको सही र मनोवैज्ञानिक बलि-परम्परा।

तर, आजको विडम्बना दर्दनाक छ। आजकल उपर्युक्त तान्त्रिक जप-साधनाको उपेक्षा गरी केवल मासु खानको लागि बलि दिने गरीन्छ र दिनहुँ बधशालामा हजारौँ-लाखौँ पशुहरु पनि काटिएकै हुन्छन्। 

यसरी, हिन्दू धर्मको बली-परम्पराको सहि अर्थ नबुझी, यसको अपव्याख्या गरेर जिब्रोको स्वाद मेट्नेहरुको संख्या समाजमा बढ्दो छ। यसबाट प्रष्ट हुन्छ कि बलि-प्रथा पूर्णतया वैज्ञानिक  थियो तर यसको गलत व्याख्याले निरीह पशुहरुको कटानी बढ्दो छ। यस विषयमा जागरुक व्यक्तिहरु प्रखर रुपमा लागेर बली-परम्पराको वास्तविक अर्थलाई समाजमा पुनः प्रतिष्ठित गर्नु आजको आवश्यकता हो जस्तो लाग्छ। हरि ओम् तत्सत् !

(आचार्य योग-जिज्ञासु र हिन्दू धर्मको वैज्ञानिकताबारे खोज गर्ने व्यक्ति हुन्। उनी बुढानीलकण्ठ आश्रमका संस्थापक गुरु स्वामी चन्द्रेशका चेला हुन्।)


 

नेपाली झण्डा: हिजो, आज र भविष्य !

 

 

नेपाली झण्डा, नेपाली संस्कृति र आत्मामा बसेको कुरा उनीहरुलाई थाहा छ। त्यसैले त्यसलाई फेर्न पाए नेपाल र नेपालीको ढाड भाच्न सजिलो हुन्छ भन्ने विदेशी फर्मुलाबाट यिनीहरु परिचालित  छन्।   'फुटाऊ र राज गर' भन्ने पुरानो सूत्र हो– विदेशी राजनीतिको उपेनिवेशवाद समयदेखिको ! कुरा उही मेकालयको जस्तो भयो– 'I do not think we would ever conquer this country, unless we break the very backbone of this nation, which is her spiritual and cultural heritage.' (Macaulay’s address to the British Parliament 2nd February 1835)

नेपाली झण्डा फेर्नुपर्छ, अर्को बनाउनुपर्छ भन्दै वितण्डा मच्चाउन खोज्नेहरुले नेपाली झण्डाको इतिहास बुझेका छैनन्। बुझे पनि नबुझेझैँ गर्छन्।

नेपाली झण्डा, नेपाली संस्कृति र आत्मामा बसेको कुरा उनीहरुलाई थाहा छ। त्यसैले त्यसलाई फेर्न पाए नेपाल र नेपालीको ढाड भाच्न सजिलो हुन्छ भन्ने विदेशी फर्मुलाबाट यिनीहरु परिचालित  छन्। 

'फुटाऊ र राज गर' भन्ने पुरानो सूत्र हो– विदेशी राजनीतिको उपेनिवेशवाद समयदेखिको ! कुरा उही मेकालयको जस्तो भयो– 'I do not think we would ever conquer this country, unless we break the very backbone of this nation, which is her spiritual and cultural heritage.' (Macaulay’s address to the British Parliament 2nd February 1835) 

मेकालयले ब्रिटिश संसद्मा १८३५ फेब्रुअरी २ आजकै दिन यो कुरा घोषणा गरेका थिए कि इंडियालाई दास बनाउनको लागि उसको संस्कृति मेटाउनुपर्छ नभए कहिले पनि सकिन्न भनेर ! नेपालका ठूला नेता भनौदाहरुले पनि मेकालयकै दाउपेच लगाउन खोजेका छन्– झण्डा फेर्ने, राष्ट्रिय पशु फेर्ने, नेपालको नामै फेर्नेजस्ता अतिवादी कुरा गरेर ! नेपालको झण्डा बदल्नुपर्छ भन्नेलाई यही लेखबाट यस्ता–यस्ता प्रमाण प्रस्तुत गर्छु, जसले यही नेपाली झण्डा किन जरुरी छ, प्रष्ट हुनेछ।

नेपाली झण्डाको इतिहास हेर्दा देखिन्छ– यो झण्डा नेपालका प्रथम ऎतिहासिक राजा मानदेवको पालादेखि नै नेपालको झण्डा यही आकारमै थियो। किनभने, राजा मानदेवको 'मानाङ्क' मुद्रामा यो झण्डाको चित्र अङ्कित छ। यो कुरा प्राध्यापक डा. जगमान गुरुङले पनि प्रष्ट भन्नुभएको छ। 
मानाङ्क मुद्राको चित्र गुगलमा भेट्न सकिन्छ, जसको तल्लो भागमा त्रिकोण झण्डा विराजमान छ। यसबाट के प्रष्ट हुन्छ भने आजभन्दा लगभग १५०० वर्षअघिदेखि नेपालको झण्डा यही नै हो। यो कुराले नेपाली झण्डाको प्राचीनत्व प्रमाणित गर्छ।

अब नेपाल एकीकरणको प्रसङ्गमा जाऔं। राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गुरु गोरखनाथको आशीर्वादमा गरेको कुरा प्रष्ट छ। गुरु गोरखनाथको किताबमा यो श्लोक उल्लेखित छ।
हकार क्रितितः सूर्यस्य ठकार चन्द्र उच्यते।
सूर्योचन्द्र मसोर्योगाद्  हठयोग निगद्दते।।
(सिद्ध सिद्धान्त पद्दति १/६९ --गुरु गोरखनाथ)

उक्त श्लोक हठयोगको हो। यसमा भनिएको छ– हकार भनेको सूर्य नाडी हो अर्थात् हाम्रो दाहिने नासिका र ठकार भनेको चन्द्र नाडी हो अर्थात् हाम्रो देब्रे नासिका। जब दुबै नाडी सम भएर तेस्रो नाडी शुषुम्ना खुल्छ त्यस अवस्थालाई हठयोग प्राप्त भएको अवस्था भनिन्छ।

यो श्लोकमा सूर्य र चन्द्र शब्दको प्रयोग संयोग मात्र होइन। गुरु गोरखनाथ हठयोगी भएको हुनाले, उहाँले नेपालमै तपस्या गरेको हुनाले र  नेपाल हठयोग सिद्ध हुने भूमि भएकाले उहाँले  नेपाली झण्डामा चन्द्र सूर्य इंकित गर्न लगाउनुभयो। अर्थात्, गुरु गोरखनाथकै निर्देशनमा नेपालको झण्डाको यो स्वरुप बन्यो। यसबाट नेपाल योगभूमि हो भन्ने कुरा प्रष्ट हुन्छ। 

नेपालमा तपस्या गर्नुभएका हजारौँ ऋषिमुनिबाट पनि नेपाल योगभूमि हो भन्ने कुरा प्रष्ट हुन्छ। यसरी नेपाली ध्वजाको निर्माण भयो। यो ध्वजा पवित्र  छ। त्यसैले यो ध्वजालाई हिन्दू र बौद्ध मन्दिरमा राखिन्थ्यो। यो ध्वजाले नेपालको योग संस्कृति संस्कृतिसँग पनि जोडिएको छ। त्यसैले नेपालीको

आत्मामा पनि बसेको छ। अब यहि कुरा झण्डा फेर्न पर्छ भन्ने झुण्डलाई पच्दैन किनभने उनीहरु योग र हिन्दू नाम सुन्न रुचाउदैनन्। 

किन रुचाउन्नन् भन्दा आफ्नो धर्म उनीहरुले डलर-युरोमा बेचिसके !

अब नेपाली ध्वजाको रङको विश्लेषण गरौँ। झण्डाको रातो रङ प्रकृति माता शक्तिको प्रतीक हो। सेतो रङ ज्ञान शान्ति आनन्द र सम्पूर्णताको प्रतीक हो। नीलो रङ शिव भगवानको प्रतीक हो। त्यसैले शिव भगवानलाई नीलकण्ठ भनिन्छ। यसबाट के निश्चित हुन्छ भने परमात्मा शिव र शक्तिले बनाएको पालन र संरक्षण गरेको देश हो यो !

यहाँ कोही नरपिशाचले सधै शासन गर्न सक्दैन। अब सत्यको जीत हुन्छ ! एक दिन सच्चा नेपालीको शासन आउँछ। त्यो दिनको प्रतीक्षा गरेर हुँदैन ! त्यो दिन हामी लागिपरेर ल्याउनुपर्छ ! 

अन्तिममा, योभन्दा अतियुक्ति हुँदैन– 'जबसम्म चन्द्रसूर्य रहन्छ तबसम्म नेपाल रहन्छ नेपाली झण्डा रहन्छ।' 

जय नेपाल ! जय नेपाली झण्डा! ओम!


 

असफल मान्छे मैले कहिँ भेटेन!

 

 

यो ब्रह्माण्डमा या संसारमा असफल मान्छे कोही पनि हुँदैन, आजसम्म भएको पनि छैन, हुने पनि सम्भावना छैन।

प्रत्येक प्राणीले अन्तमा "मुक्ति" आफ्नो परम् लक्ष्यलाई पाएर सफलता पाएकै हुन्छ। जिन्दगीको परीक्षामा कोही असफल हुँदैन। एउटा जीवन हेरेर एक आत्माको असफलता निर्क्योल गर्न पनि मिल्दैन।

एउटा जीवन एक आत्माको अनन्त जीवन (शरीर धारण) मध्येको एक कडी मात्र हो। कोही जीवनमा असफल जस्तो देखिएला तर अर्को जीवनमा फेरी अर्को जीवनमा उसले पूर्णता पाउनु नै छ।

जसरी कुनै नदी समुद्रमा नपुगी सुखै छैन, त्यसरी मानव आत्मा पनि परमात्मामा विलिन नभई सुखै छैन।कसैले तर्क देला कि कोही नदी बिचमै सुक्छ समुद्र नभेटी ! तर उसले यो कुरा देख्दैन कि त्यो सुकेको नदीको पानी पृथ्वीको समग्र जल तत्वमा जसरी पनि मिसिन्छ नै, या जमिन मुनि गएर या बाफ बनेर वर्षेर अरु नदीमा मिसिएर समुद्रमा जान्छ। अरु उपाय छैन। अन्तमा सफलता नपाई सुखै छैन। यो प्रकृति को नियम हो।

"भोगापवर्गार्थम् दृश्यम् " (योगसुत्र २/१८ )

अर्थात् दृश्यम वा प्रकृतिको काम भनेको भोग हुँदै प्राणीहरुलाई अपवर्ग (मुक्ति) सम्म लैजानु हो। वा प्रकृतिको उद्देश्य प्राणीहरुलाई भुक्ति तथा मुक्ति प्रदान गर्नु हो।

सम्पूर्ण प्राणी हरुलाई मुक्ति नदिई प्रकृतिले पनि मुक्ति पाउँदैनिन्। भौतिक जीवनलाई मात्र हेर्दा पनि यहाँ हार या असफलता जस्तो कुनै चिज भेटिदैन।

जीवनका क्रियाकलापमा या त जीत छ या त सिख छ, हार छदै छैन। जीवनको सुरुवातमा पनि हामीले युद्ध जितेरै आएको हो र अन्तमा पनि जित्छौँ  नै। मात्र बीचमा सानो तिनो लडाई हारे जस्तो देखिन्छ तर वास्तविक रुपमा हेर्दा  यो पनि जीतको एउटा खुड्किलो मात्र हो, एउटा शिक्षा हो।

हामीहरु  बिनासित्ति हार जीतको / सफलता असफलताको विषयलाई लिएर तनावमा बाँचिरहेका हुन्छौँ। त्यहि चिन्ता नै पहिला आधि र पछि ब्याधि बनेर हाम्रो जीवनको लयलाई बिगार्न उद्धत हुन्छ र अकालमै एक जीवनलाई टिप्न पनि बेर लाउँदैन। यसकारण, हारजीतको तनाव र तनावको कारण लाई गोली मारौं। यो संसारमा तनाव लिने कुनै कारण नै छैन। मस्त भएर भगवत् भक्ति गर्दै कर्म गर्नु नै एक मात्र कर्तब्य हो।

"योगस्थ कुरू कर्माणी " भागवत् गीतामा भनिए जस्तै सर्वप्रथम योगमा आफुलाई स्थापित गरौँ अनि कर्म गरौँ। बिना योगको  कर्म मात्रले हामीलाई रणभुल्लमा पार्छ। नपत्याए कोशिस गरेर हेर्नु ! ओम् ! 


Saturday, January 22, 2022

तुफानजस्ता उद्धमी आनन्द राज बतास



आनन्द राज बतासको जन्म ३० अक्टोबर १९६७ मा भएको हो । उनी एक नेपाली व्यवसायी तथा परोपकारी हुन् । उनी बतास अर्गनाइजेशनका वर्तमान अध्यक्ष हुन् जुन एक कङ्ग्लोमरेट हो, जसमा ११ सहायक कम्पनीहरू रहेका छन्। ब्यापार बाहेक उनी बिभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध रहेका छन् । उनीद्वारा स्थापित बातास फाउन्डेसन सामाजिक कल्याणका लागि काम गर्दछ र उनी अक्सर मानवीय प्रतिक्रिया, आजीविका, पुनर्निर्माण, पुनर्वास, राहत, शिक्षा आदि क्षेत्रमा योगदान गर्छन्।

आनन्द राज बतास भन्छन्, ” म यहाँसम्म आउनुमा म एकदम धनि र समृद्ध परिवारबाट भएको हुनाले होइन । मेरो बुवाले बिजनेसको जग बसाल्दिनु भएको भने जरुर हो । तर, मैले विस्तारै व्यवसायलाई बढाउँदै गएँ । म यहाँसम्म आउन बत्तीस वर्ष लाग्यो ।” उनले थपे, ” म कपडा पसल गर्दा पसलमै सुत्थेँ, आँगन आफैँ बढार्थें। फोटोकपी पसल चलाउँदा आफैँ फोटोकपी गर्थे, पी सी ओ आफैँ संचालन गर्थें र निकै मेहनतले काम गरी यहाँसम्म आइपुगेको हो ।”


बतासको जन्म तनहुँ जिल्लाको बेलचौतारामा श्रीराम प्रसाद बतास र श्रीमती सेतीमाया बतासको जेठा छोराको रूपमा भएको थियो। उनी आफ्ना दुई भाइहरू: शान्तराज बतास र विपेन्द्रराज बताससँग तनहुँमा हुर्केका थिए। बतासले गण्डकी बोर्डिङ स्कुल लामाचौरबाट स्कुल र पोखराको पृथ्वीनारायण क्याम्पसबाट कलेज पूरा गरे । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरे । उनका बुबा श्रीराम प्रसाद बतासले सन् १९६७ मा पोखराको सानो सहरमा लत्ताकपडाको व्यापार गरेर कम्पनी सुरु गरेका थिए। उनको इमानदार प्रतिबद्धता र नैतिक व्यापार अभ्यासले उनलाई सानो सहरबाट नजिकैको सहर पोखरामा व्यवसाय विस्तार गर्न मद्दत गर्यो। बतासको दोस्रो पुस्ताले व्यापारको सिमाना फराकिलो बनाएको छ । 


बतास भाइहरूले सानो कम्पनीलाई एक समूह BATAS संगठनमा परिणत गरे जुन नेपालको प्रसिद्ध कर्पोरेट घरहरू मध्ये एक हो। ” बिजनेस गर्नलाई पैसा चाहिंदैन । बिजनेसको लागि मेहनत चाहिन्छ, इमान्दारिता चाहिन्छ र त्यसलाई निरन्तरता दिनुहोस् । पैसा त बैंकले दिन्छ,” उनले आफ्नो अनुभव सुनाए । उनले थपे, ” मलाई बैंकले पत्याउँछ किनभने मैले लामो समयदेखि इमान्दारिता प्रमाणित गरेको छुँ ।”


आफ्नो इमान्दार बुबाको कदम र नैतिकता पछ्याउँदै, बतासले सधैं व्यापक सम्भावनाको लागि व्यापार विस्तार गर्ने प्रत्याशा गरेका थिए। सन् १९८४ मा स्कुल (एसएलसी) पास आउट भएपछि उनले दुई फोटोकपी मेसिनसहितको सानो बुथ खोले। आफ्नो निहित समर्पण र प्रतिबद्धताका कारण उनले बातास अर्गनाइजेसनलाई नेपाल र अन्तर्राष्ट्रिय स्तरमा एक चर्चित कम्पनीको रूपमा विकास गरेर आफ्नो सपना पूरा गरेका छन्। व्यापारको सन्दर्भमा, BATAS संगठन ११ सहायक कम्पनीहरूको समूह हो । मुख्य रूपमा बतासले अटोमोबाइलमा आफ्नो नाम बनायो र बिस्तारै बैंकिङ (भाडा-खरीद), रेमिट्यान्स, ऊर्जा, भाडा व्यवस्थापन, टुर र ट्राभल्समा विस्तार गर्यो। विस्तारको क्रममा, बतास संगठनले अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग विश्वव्यापी साझेदारीलाई उपयोग गर्न सक्षम भएको छ। बतास भोल्भो आइशर, फियाट, पेट्रोनास, ग्लोब्याट र हिमाल रेमिटको एकमात्र वितरक हो। बतास मारुति सुजुकी, महिन्द्रा र टि भी एस को लागि क्षेत्रीय डिलर पनि हो।


बतासले करिब ६ सयलाई प्रत्यक्ष रोजगारी दिएको छ भने हजारौँलाई अप्रत्यक्ष रोजगारी दिएको छ ।

उनी भन्छन्, ” म कुनै कामलाई सानो-ठूलो भन्दिन । म सानो सानो काममा रमाउँछु । म सानो पसल पनि खोल्छु, रेस्टुरेन्ट पनि खोल्छु र आफ्नो साथीभाई पनि पार्टनर बनाउँछु । किनभने म मात्र उद्दमी भएर भएन । अरुलाई पनि म काम सिकाउँछु ।”


” तीन दाजुभाईबाट सुरु भएको कम्पनीमा आज १००० जना दाजुभाई जोडिएका छौँ । उनीहरु मेरा इम्प्लोई होइनन् । म उनीहरुलाई पार्टनर भन्न रुचाउँछु । नेपालमा सरकारले प्राइभेट सेक्टरलाई प्रोत्साहान गरे म १०००० जीविका जोड्न सक्छु ।” उनी आफ्नो अनुभव सुनाउँदै हौसिए ।


उनले आम जनतालाई आह्वान गर्दै भने, “म जस्तो दुर्गम ठाउँबाट आएको मान्छेले यति गर्न सक्छ भने तपाईंहरु पनि सक्नुहुन्छ । यसमा लागौं न यार् । गरौँ न यार् । हामीजस्ता दशौँ हजार मान्छे उत्पादन गरौँ न ।”

नेपालमा अवसर नै अवसर रहेको उनको भनाइ छ । दैनिक १५००-२००० नेपाली विदेश गएको देख्दा दु:ख लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ” २-४ लाख खर्च गरेर नेपाली विदेश जान्छ । यदि त्यो पैसाले नेपालमा तरकारी पसल गर्ने भने महिनामा ४०-५० हजार नेपालमैं कमाई हुन्छ । म त्यो कुरा देखिरहेको छु । स्किल सिकेर मोटरसाइकल वर्कशप खोले पनि त्यति कमाई हुन्छ ।”


हालसालै, नारायणहिटीमा रेस्टुरेन्ट खोल्ने टेन्डरमा विवादित भएका बतास भन्छन्, ” सरकारले विधिवत रूपमा टेन्डर आह्वान गरेर हामीले स्वीकृति प्राप्त गरेर काम गरेका हौँ । यस्तो कामलाई गैर-कानूनी कसरी भन्न मिल्छ । कि सरकारले टेन्डर गर्ने कामै बन्द गरोस् ।”


समग्रमा हेर्दा, बतास ग्रुप एक नेपाली उद्दमी कम्पनी हो जसले नेपाली अर्थतन्त्रमा आफ्नो राम्रो योगदान गरेको छ । सरकारले उद्दमलाई प्रोत्साहन गर्न आनन्द राज बतास जस्ता कर्मशील उद्दमीलाई अनावश्यक झमेलामा पार्नु भन्दा सहयोग गर्नु उपयुक्त हुन्छ।